६ बैशाख २०८१, बिहीबार 1713462405
समाचार

रात्रीकालिन व्यवसायलाई मर्यादित बनाउन सरोकारवालाको माग

काठमाडौँ, चैत २९ गते । रेष्टुरेन्ट, दोहोरी साँझलगायत रात्रीकालिन व्यवसायलाई मर्यादित बनाउँदै त्यसमा काम गर्ने श्रमिक र लगानी गर्ने व्यवसायीलाई समाजमा इज्जत दिलाउन सामुहिक पहलको आवश्यकता औंल्याइएको छ ।

विश्वास नेपालद्वारा मङ्गलवार राजधानीमा आयोजित ‘मनोरञ्जन क्षेत्रलाई व्यवस्थित गर्नका लागि सञ्चालक र श्रमिकहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रलाई मर्यादित बनाउन लगानीकर्ता र श्रमिकले समेत सकारात्मक पहल गर्नुपर्ने बताइएको हो ।

कार्यक्रममा विश्वास नेपालका कार्यकारी निर्देशक बालकुमारी आलेले अन्य व्यवसाय गर्ने र नोकरी गर्नेलाई समाजले इज्जतका साथ हेर्छन् भने लगानी गरेर रोजगारी सृजना गर्ने, राज्यलाई आर्थिक टेवा पु¥याउने यस क्षेत्र, यहाँ श्रम गर्नेलाई हेयको दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले काम गरेर खाँदा समाजमा म यो काम गर्छु भन्न नसक्ने परिस्थतिको अन्त्यका लागि व्यवसाय सञ्चालन गर्नेले पनि श्रमिकलाई नियुक्तीपत्र, डयुटीको समय निर्धारणलगायत श्रमिक र त्यहाँ आउने ग्राहकका लागि समेत नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।

समाजमा यस क्षेत्रलाई मानव बेचविखन, यौन हिंसालगायतका असुुरक्षित गतिविधी गर्ने स्थलका रूपमा गरिने व्याख्यामा परिवर्तन ल्याएर सम्मानित र मर्यादित बनाउन सके प्रशस्त रोजगारी दिन सक्ने रात्रीकालिन मनोरञ्जन तथा सत्कार व्यवसाय पनि फष्टाउँछ, श्रमिकले विना हिचकिहाट काम गर्छन्–उहाँले भन्नुभयो । त्यसैगरी सो संस्थाका अध्यक्ष तारा भण्डारीले रात्रीकालिन व्यवसायीले त्यहाँ काम गर्ने श्रमिकको पक्षमा मात्र संस्थाले काम गर्छ, अधिकारको कुरा सिकाएर श्रमिकलाई भड्काउँछन् भन्ने कुरामा सत्यता छैन, भन्नुभयो । उहाँले यस क्षेत्रको समग्र हितका लागि वि.स. २०६५मा स्थापना भएको विश्वास नेपालले व्यवसायी र श्रमिक दुबैको हितका लागि काम गर्छ, देशभित्र थुप्रैलाई रोजगारी दिन सक्ने मनोरञ्जन तथा सत्कारको क्षेत्रलाई व्यवस्थित बनाउन समन्वयकर्ताको भुमिकामा काम गर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी रोधीघरका सञ्चालक मुकुट रायमाझीले यस क्षेत्रमा काम गर्ने श्रमिककै अभाव रहेको बताउनुभयो ।

उहाँले यहाँ काम गर्ने कर्मचारीकै कारण सञ्चालकलाई समस्या हुने गरेको बताउँदै विना खबर स्टाफ बेपत्ता हुने समस्याले व्यवसायी मारमा रहेको बताउनुभयो । उहाँले श्रमिकलाई दुःख दिन्छन्लगायतका बाहिर सुनिए जस्तो वातावरण नभएको दावी गर्दै श्रमिकले समयमा उपस्थित नहुने, छिटो छिटो काम छोडेर हिड्दिने समस्या धेरै रहेको बताउनुभयो । सञ्चालक रायमाझीले आफ्नो व्यवसायमा काम गर्ने श्रमिकलाई आवश्यक सुविधा दिएर काममा राखेको बताउनुभयो । साथै यस व्यवसायमा प्रशासनले बढि दुःख दिने गरेको पनि गुनासो गर्नुभयो । माइतीघर ज्याकपट डान्सवारमा कुकको रूपमा कार्यरत शङ्कर गिरीले पनि गृह मन्त्रालयले यस्तो व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न सकिने सुचना र निर्देशिका जारी गरेको छ, तर प्रहरी प्रसाशनले रातको २ बजेभन्दा पाँचै मिनेट बढि हुँदा पनि व्यवसायीलाई पक्रेर लैजाने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा सहभागी सञ्चालकहरूले त्यहाँ आउने ग्राहकले ढुक्कले बसेर खान, दोहोरी सुन्ने र नृत्य हेर्नका लागि प्रशासनले लगाएको समयको बन्देजले निक्कै असर गरेको बताए । साथै श्रम ऐनको पूर्ण कार्यान्वयन नभए पनि श्रमिक मर्कामा नपरेको उहाँहरूको भनाई थियो । सो अवसरमा विश्वास नेपालमा ‘हाम्रो सम्मान परियोजना’का संयोजक विवेक शर्माले श्रम ऐन, २०७४ कार्यान्वयन र श्रमिकहरूको आधारभुत आवश्यकता पुरा गर्न सञ्चालकले थोरै लचिलो ढङ्गले काम गर्दा यस क्षेत्रमा रोजगारी बढ्ने र व्यवसायीले लक्ष्य अनुसार काम गर्न सकिने विचार व्यक्त गर्नुभयो । साथै श्रमिकले पनि आफ्नो दायित्व पुरा गर्नुपर्नेमा शर्माले जोड दिनुभयो ।