१२ बैशाख २०८१, बुधबार 1714011244
Banner

चुनावी तालमेल गर्ने सत्ता गठबन्धनका मापदण्ड यस्ता छन् (सूचीसहित)

सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको मेयर तथा उपमेयरको सिट बाँडफाँटको टुंगो केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको छ। 

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मुलुकका ६ महानगर र ११ उपमहानगरमा मेयर-उपमेयर गठबन्धनको केन्द्रीय संयन्त्रले टुंग्याउने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

त्यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँट गरेर वैशाख ५ गते भित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ। 

यस्ता छन् आधार

१ः महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनेको केन्द्रीय संयन्त्रले गर्ने ।

२ः नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३ः सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

४ः प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई पतिनिधि रहने ।

५ः प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।

६ः सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू

१ः २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयीलाई आधार मान्ने । (नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने ।)

२ः गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने

३ः २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।

४ः २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उम्मेदवारले पाएको मत भरलाई पनि आधार मान्ने ।

५ः गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्ने, गठबन्धनबाहिर चुनावी तालमेल गर्न नपाइने ।