६ जेष्ठ २०८१, आईतवार 1716116400
समाचार

झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती

झापा- जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको समीप जान हुँदैन ।

झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका–२ सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुईवटा छावा जन्मिएका वन डिभिजन कार्यालयका प्रमुख मेघराज राईले राससलाई बताउनुभयो ।

“पाँचपोखरी र सुकेडाँगी वन क्षेत्रमा मङ्सिर महिनातिर दुईवटा छावा जन्मिएको सूचना हामीले पाएका छौँ,” उहाँले भन्नुभयो, “भर्खर जन्मिएका सन्तानलाई हात्तीले हूल बाँधेर सुरक्षा दिने हुँदा छावा जताजता जान्छ उतैतिर हात्तीको बथान गइरहेको छ ।”

छावालाई असुरक्षा नहोस् भनेर माउ हात्ती र बथानका अरू हात्तीले मानिसप्रति आक्रामक व्यवहार देखाउने उहाँले बताउनुभयो । बस्तीतिर छावासँगै हात्तीको हूल पस्यो भने बढी क्षतिको सम्भावना हुन्छ । मोरङको बेलबारी र पथरी नजिक बेतना सिमसार रहेको वन क्षेत्रमा पनि हात्तीले छावा जन्माएको छ । स्थानीयवासीले हात्तीको नवजात छावा देखेर वन कार्यालयमा जानकारी दिएका छन् ।

वन डिभिजन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले बेतना सिमसार नजिकै जङ्गलमा छावा जन्मिएको जानकारी आएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “कोशी टप्पु वन्यजन्तु आरक्षका प्राविधिकहरुले जङ्गलभित्र हात्तीको बच्चा देखे ।” मोरङको वन क्षेत्रमा डुलिरहेका हात्तीको बथानमा ६ वटा छावा गणना गरिएको उहाँले बताउनुभयो ।

हात्ती संरक्षणमा सक्रिय अभियन्ता शङ्कर लुइँटेलले झापाको जङ्गलमा विगतदेखि नै हात्तीको प्रजनन हुने गरेको बताउनुभयो । उहाँले २०६४ सालमा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीले स्थानीयको खेतमै छावा जन्माएको आफूले देखेको बताउनुभयो ।

झापाको पाँचपोखरी र जलथल वन क्षेत्रमा हात्तीले पटकपटक छावा जन्माएर हुर्काउने गरेका छन् । पाँचपोखरी वन क्षेत्रमा हात्ती लुक्ने बाक्लै रूखबिरुवा र फराकिलो प्राकृतिक पोखरी रहेको छ । मोरङको बेलबारी र पथरी नजिक पनि बेतना सिमसार रहेको हुँदा पानीको पर्याप्त स्रोत रहेको छ ।

हात्तीले प्रजननका लागि पानीको पर्याप्त स्रोत र लुक्न मिल्ने बाक्लो जङ्गल भएको क्षेत्र रोज्ने गरेको वन डिभिजन कार्यालय मोरङका प्रमुख घिमिरे बताउनुहुन्छ । प्रजननका लागि रोजेको क्षेत्रमै हात्तीले छावा जन्माउने गर्दछ । अहिले छावा जन्मिएको झापाको सुकेडाँगी वन क्षेत्रमा पनि कनकाई नदी र सिमसार क्षेत्रको पानी प्रशस्त रहेको छ । जलथल जङ्गल पनि हात्तीको प्रजननका लागि उपयुक्त मानिन्छ ।