८ जेष्ठ २०८१, मंगलवार 1716346598
Banner

बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

नगर अस्पतालको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको र तनाव बढ्दै गएकोले आज शुक्रवार बेलुका साढे ५ बजेदेखि भोलि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

बरहथवा नगरपालिकामा नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा आज दिउँसो बरहथवा नगरपालिका–६ का जयशंकर साहको ज्यान गएको थियो । अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो । स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो । यो विषयमा विवाद भएपछि आजका लागि नगरपालिकाले सर्वदलीय बैठक पनि राखेको थियो । तर तनावको स्थिति देखिएपछि सर्वदलीय बैठक स्थगित गरेको नगरपालिकाले सूचना निकालेर जानकारी गराएको थियो ।

नगर अस्पताल नगरपालिकाले नै चलाउनुपर्ने माग स्थानीयको छ । स्थानीयले आज बजार बन्दसमेत गराएका थिए । प्रदर्शनकारीहरुले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले बताएको छ ।

बरहथवा क्षेत्रको अवस्था अहिले पनि तनावग्रस्त रहेको छ ।