२० बैशाख २०८१, बिहीबार 1714637939
Banner

पाथीभराको भेटी रकम साढे आठ करोड

ताप्लेजुङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साढे आठ करोड रुपैयाँ भेटी सङ्कलन भएको छ । भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मङ्सिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रुपैयाँ भेटी रकम सङ्कलन भएको छ ।

पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिरमा मात्र ६८ लाख ११ हजार एक सय १० रुपैयाँ भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।

सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ रुपैयाँ खर्च भएको समितिले जनाएको छ । सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ ।

खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ रुपैयाँ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

बैंकमा मुद्दती खातामा छ करोड ८८ लाख रुपैयाँ मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार चार सय ४० रुपैयाँ रहेको समितिले जानकारी दिएको छ ।