३ जेष्ठ २०८१, बिहीबार 1715888095
फिचर

परम्परागत घारमा मौरी पालेर जीविकोपार्जन गर्दै दिनेश

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गर्नुभएको छ । विसं २०६९ देखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपिसेरेना जातको मौरीपालन सुरु गर्नुभएका ३२ वर्षीय दिनेशले एक याममा कम्तीमा एक सय ५० बोतल मह बिक्री गर्नुहुन्छ । पाँच सय मिलिलिटरको बोतलमा भरिएको मह प्रतिबोतल रु एक हजार पाँच सयमा बिक्री गर्ने गरिएको दिनेश बताउनुहुन्छ ।

हाल दिनेशको घरमा ३० वटा खोपा घार र १७ वटा काठको डुँड छन् । त्यसमध्ये अहिले ४० घारमा मौरी छन् । दिनेशले वर्षको दुई पटक जेठ र मङ्सिरमा मौरीको मह निकाल्ने गर्नुभएको छ । गत कात्तिकदेखि हालसम्म एक सय ३५ बोत्तल मह बिक्री भइसकेको दिनेशले जानकारी दिनुभयो । “फोनबाट सम्पर्क गर्दै ग्राहक घरैमा आइपुग्छन् । कहिलेकाहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ । महबाट आउने आम्दानीले नै छ जनाको परिवार चलिरहेको छ”, दिनेशले भन्नुभयो, “आगामी दिनमा थप घार विस्तार गर्ने योजना छ । काठका लागि स्थानीय सामुदायिक वनसँग कुरा गरिसकेको छु ।” मह काढ्ने समय भएपछि दिनेश तस्वीर र भिडियोसहित आफ्नो सम्पर्क नम्बर फेसबुकमा राख्नुहुन्छ । ग्राहक त्यही सम्पर्क नम्बरमार्फत मह किन्न पुग्छन् । मध्यपहाडी राजमार्गको मुढेबाट करिब पाँच मिनेटमाथि रहेको दिनेशको घर पुग्ने कच्ची सडक बनिसकेको छ । व्यावसायिक मौरी पालनका लागि दिनेशले पुरानो घरको पर्खालमा दश खोपा घार र नयाँ घरमा २० वटा खोपा घार बनाउनुभएको छ । “घर बनाउने क्रममै काठको खोपा बनाएर पर्खालमा लहरै मिलाएर राख्नुपर्ने हुन्छ । डुँड घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राख्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ । शौचालयको पर्खाललाई समेत खोपा घारको रुपमा उपयोग गरेको छु ।

लेकाली भेगमा हुने मौरीले आधुनिक घारभन्दा यसैलाई रुचाउँछ ।” दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नूनथलास्थित गैरीगाउँ पुगेका बेला घरको भित्ता र काठको डुँडमा मौरीपालन गरेको देखेपछि आफूले पनि सुरु गरेको दिनेशले बताउनुभयो । नूनथलामा देखेपछि आफ्नो घर बनाउने क्रममा आफूले पनि सोहीअनुसार घरको भित्तामा खोपा घार र काठको डुँड बनाएर मौरीपालन सुरु गरेको उहाँले बताउनुभएको छ । व्यावसायिक मौरीपालनका लागि सीप सिक्न गोदावरीसम्म पुगेको दिनेशले जानकारी दिनुभएको छ । “मावली घरमा देखेर त्यस्तै खालको घार बनाएँ । नभन्दै मौरी आफै घार खोज्दै आएर बस्यो । मौरी बढ्दै गयो । अरु काम गर्न उत्साह जगायो”, उहाँले भन्नुभयो, “धोद्रो भएको रुख काटेर घार थप गर्दै गएँ । अहिले यसैबाट गुजारा चलिरहेको छ । दातृ निकायको सहयोग पाए थप विस्तार गर्ने योजनामा छु ।” लालीखर्कस्थित दिनेशको घरभन्दा केहीमाथि घना जङ्गल छ । जङ्गलमा चुत्रो, चिराइतो, पात्ले, मान्द्रे, ठेकीफललगायत मौसमी फूल फुल्छन् । त्यही कारण पनि दिनेशलाई मौरी पालनका लागि सहज भएको छ । पछिल्लो समय मौरी पालनका लागि जताततै आधुनिक घार प्रयोगमा आइसकेको छ तर, दिनेशले हालसम्म आधुनिक घार प्रयोग गर्नुभएको छैन । लेकमा आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको दिनेशले बताउनुभयो । अहिले सरकारी अनुदान लिनेको कमी छैन । दिनेशले भने हालसम्म कहीँकतैबाट अनुदान लिनुभएको छैन ।

आफ्नै बलबुतामा मौरीसँग रमिरहनुभएको छ । “नक्कली किसानले अनुदान पाउँछ, अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ । समूह बनाएर आउनु भनियो, त्यसपछि गइनँ”, दिनेशले भन्नुभयो, “अनुदानको सही सदुपयोग भइरहेको छैन । मौरी पालनलाई थप विस्तार गर्ने योजना छ । तीस वटा खोपा घार हुने गुवाली बनाउने योजना बनाएको छु ।” चार वर्षअघि मुढेमा हिमपात हुँदा दिनेशको ३६ घार मौरी सखाप भएको थियो । मौरी नै नरहेपछि कतिपय घार चिरेर दाउरा पोल्नुभएका दिनेशले घार सफा गरेपछि पुनः आफै मौरी आएको बताउनुभयो । बुबा भारतीय सेनाबाट अवकाश भए पनि दिनेशले उहाँको पदचापलाई पछ्याउनु भएन, कृषि पेसातिर लम्किरहनुभयो । दिनेशका बुबा मानबहादुर तामाङको गत वर्ष नै मृत्यु भइसकेको जनाइएको छ । रासस