८ बैशाख २०८१, शनिबार 1713644312
Uncategorized

एमाले सिन्धुलीको अधिवेशन, अध्यक्षमा को-को छन् आकांक्षी ?

नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशन २३ पुसमा तय भएपछि सिन्धुलीमा चुनावको सरगर्मी बढेको छ । नेतृत्वका लागि नेताहरु आन्तरिक तयारीमा जुटेका छन् ।

जिल्ला अध्यक्षमा विनोदकुमार खड्का, प्रदीप कटुवाल, केशवप्रसाद देवकोटा, कुमारबहादुर कार्की ‘रामकुमार’ र कौशल कोइराला आकांक्षी छन् ।

खड्कासिन्धुली क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट बागमती प्रदेश सभा सदस्य हुन् । उनी नेतृत्व परिवर्तन र पुस्तान्तरणको नारा लिएर अघि बढेका छन् ।

कटुवाल यसअघि नै जिल्ला अध्यक्ष बनिसकेका छन् ।सिन्धुली क्षेत्र १ प्रदेशसभा ‘ख‘ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित उनी २०७० मा एमाले को सातौँ  जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका थिए ।

देवकोटा पनि पूर्वजिल्ला अध्यक्ष हुन्  कार्कीसँग भूमि समस्या समाधान आयोग जिल्ला अध्यक्षकाे अनुभव छ । कोइराला सातौँ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।

७८ वडामा प्रतिनिधि छनोट

अधिवेशनका लागि सिन्धुलीका ७८ वडाबाट प्रतिनिधि छनोट भएका छन् । जिल्लाको ७९ वडामध्ये ७८ वडाबाट प्रतिनिधि छनोट भइसकेको कमलामाई नगर कमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुधौली नगरपालिका २ मा भने प्रतिनिधि छनोट हुन बाँकी छ ।

तिनपाटन गाउँपालिकाबाट ७९, हरिहरपुरगढीबाट ४३, गोलन्जोरबाट ४७, फिक्कलबाट ३८, सुनकोशीबाट ६२, घ्याङ्लेखबाट २२ र मरिणबाट ३७ प्रतिनिधि चयन भएका छन् ।

त्यस्तै, कमलामाई नगरपालिका र दुधौलीबाट १४३­- १४३ जना र २१ वटा जनसंगठनबाट १ सय ५९ प्रतिनिधि छनोट भएको श्रेष्ठले बताए । वडाबाट छुट भएका तथा समेट्न नसकिएका पाँच प्रतिशत प्रतिनिधि जिल्लाले मनोनयन गर्नेछ ।

अधिवेशनमा ९ सय ६ प्रतिनिधि सहभागी हुने छन् ।