१९ बैशाख २०८१, बुधबार 1714606658
पर्यटन

बन्दीपुर र मानुङकोटमा पर्यटकको आकर्षण

तनहुँ- चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो ।

बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताउनुभयो । प्रधानले भन्नुभयो, “यो पर्यटकको घुम्ने समय हो । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको आगमन बढ्दैछ ।”

बन्दीपुरमा दसैँ सुरु भएदेखि नै पर्यटकको चहलपहल बढेको र उक्त सङ्ख्या यतिबेला अझ बढेको उहाँको भनाइ छ । बन्दीपुरमा विशेष गरी चिनियाँ पर्यटकको सङ्ख्या बढी भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानका अनुसार बन्दीपुरमा अहिले दैनिक दुई हजार पर्यटकको आगमन भइरहेको छ । “विगतका वर्षमा चिसो मौसममा पनि यही हाराहारीमा पर्यटक आउँथे”, उहाँले भन्नुभयो, “पर्यटकमा घुम्ने संस्कृतिको विकास भइरहेको छ ।”

पर्यटन विकासको समितिको तथ्याङ्कअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन् । समितिका अनुसार जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ वटा पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे नेपाली, अङ्ग्रेजी, चिनियाँ, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा सामग्री तयार पारिएको छ ।

विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रितिरिवाज र परम्परागत शैलीको घर देखेर मख्ख पर्ने गरेको व्यवसायी वसन्त पौडेलको भनाइ छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा सूर्योदयसँगै देखिने कुहिरो हेर्ने पर्यटकको सङ्ख्या पनि बढेको छ ।