१९ बैशाख २०८१, बुधबार 1714598534
पर्यटन

पूर्वाधारको पर्खाइमा म्याग्दीको मालिका धुरी

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ। मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। यहाँ दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

सहज पदमार्ग, आवास, खानेपानीलगायत पूर्वाधारसँगै मालिकाको धार्मिक तथा पर्यटकीय महत्त्वका बारेमा पर्याप्त प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए। 

‘सुन्दर दृश्यावलोकन गर्न सकिने मालिकामा विदेशी पर्यटक भित्र्याउन सकिएको छैन,’ उनले भने, ‘विशेष पूजाआजा हुने चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीबाहेकका दिनमा भक्तजन पनि आउँदैनन्।’

मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओढारमा कष्टप्रदरूपमा रात कटाउन बाध्य छन्। खानेपानी र शौचालयको सुविधा छैन । बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका पुग्न सकिन्छ। ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ।

‘सत्तलको सरसफाइ, आवास व्यवस्थापन र भक्तजनको सुरक्षाको आवश्यकता छ,’ पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटबाट मालिका दर्शन गर्न जानुभएका कृष्ण जिसीले भने, ‘धुलैधुलो भएको सत्तलमा प्लास्टिक बिछ्याएर बस्नुप¥यो। चिसो र असुविधाले बस्नै गाह्रो भयो।’

रघुगङ्गा र मालिका गाउँपालिकाले गत वर्ष रु १० लाख लगानी गरेर खानेपानी योजना निर्माण गरे पनि नियमित पानी आपूर्ति हुनसकेको छैन। बुटवलका भरत छन्त्याल र ठाडाखानीका खिममाया छन्त्यालले निजी लगानीमा केही वर्षअघि पाइपमार्फत मालिकाको सत्तलसम्म खानेपानी पुर्याइदिए पनि मर्मतसम्भारको अभावमा दिगो हुन सकेन। तीन वर्षअघि गण्डकी प्रदेश सरकारको ४० लाख रूपैयाँमा देउरालीबाट मालिका धुरीसम्म एक हजार दुई सय ७२ मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग बनेपछि आवतजावत गर्न सहज भएको मालिका गाउँपालिका–७ का पलवीर जुग्जालीले बताए।