१४ बैशाख २०८१, शुक्रबार 1714145487
Banner

उदयपुर किशोरी हत्या प्रकरण : बियरको बोतल र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकार

उदयपुर । १६ वर्षिया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ । घटनाको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्बजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न बेलका नपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ घटनामा एक नाबालिको संलग्नता देखिए पनि उनलाई प्रहरीले सार्बजनिक गरेको छैन । एकवर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ ।

उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताउनुभयो । “अनुसन्धानबाट बिहानै हत्यामा संलग्न अभियुक्तहरुले किशोरीलाई बोलाई हत्या गरेको खुलेको छ ।” एसपी बोहोराले भन्नुभयो “वयानमा समेत उनीहरुले यो कुरा स्वीकार गरेका छन् ।” हत्याको मुख्य योजनाकार नाबालिक छिन् ।

एसपी बोहोराका अनुसार हत्या गर्नुको कारण साथीसाथीबीच प्रतिशोध रहेको बुझिएको छ । मृतक कविता र हत्यामा संलग्न भएको आरोपित नाबालिक साथी हुन् । उनीहरु दुबैजना स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा एकै कक्षामा अध्ययनरत हुन् । साथी–साथीबीच मिलन देखिए पनि भित्रभित्रै विविध कुराले मनमुटाव, विवाद हुने र एकअर्कामा कटाक्ष हुने गरेकाले प्रतिशोध साँधन मार्ने योजना बनाएकी थिइन् ।

सो योजनामा विनोदको मद्दत लिएर हत्या गरेको पाइएको एसपी बोहोराले बताउनुभयो । सुरुमा पछाडिबाट खाली वियरको बोतलले टाउकोमा प्रहार गरेको र अरुले थाहा पाउछ भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको बयान उनीहरुले दिएका छन् । उनीहरुले हत्या गरेपछि करिब ४० मिटर टाढा लगेर लास फालेका थिए ।

सदा झै विहान ट्युसन पढ्न घरबाट हिडेकी किशोरीलाई केही घण्टापछि गाउँलेले मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेको थियो । हत्यापछि घरै बसेका उनीहरुलाई प्रहरीले आशंका गरी घरबाटै पक्राउ गरेको थियो ।