१३ बैशाख २०८१, बिहीबार 1714066071
Banner

‘गठबन्धनको औचित्य समाप्त भईसक्यो, अब चिन्ता नगरौं घाम लाग्छ’ : अध्यक्ष ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन कुहिसकेको बताउनुभएको छ।

यो गठबन्धन कुहिसकेकाले चाँडै टुट्ने उहाँको दाबी थियो । ‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उहाँले भन्नुभयो, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’

भक्तपुरको सिपाडोलमा आज शान्ति निकेतल माध्यमिक विद्यालयको समुदघाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य समाप्त भएको बताउनुभएको हो । ‘कसैले अब चिन्ता नगरौं, घाम लाग्छ,’ उहाँले भन्नुभयो। विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । स्थानीय निर्वाचन आउन लागेको र सबै घोषणापत्र लिएर आउने भन्दै उहाँले अरुको घोषणापत्र हावाको हुने बताउनुभयो । ‘मेरो टेम्पो उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घोषणापत्र हुन्छ,’ उहाँले भन्नुभयो, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’

एमालेको घोषणापत्र जनतासँंग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उहाँको दाबी थियो ।

अध्यक्ष ओलीले चोभारमा सुक्खा बन्दरगाह उदघाटन गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘थ्याङ्क्स गोज टू शेरबहादुर देउवा, त्यतिबेला बन्दरगाह शिलान्यास गर्न नदिने कांग्रेस नै थियो ।’

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी भनेकै नेकपा एमाले र नेता भनेकै केपी ओली मात्र भएको उल्लेख गर्नुभएको थियो ।