२९ बैशाख २०८१, शनिबार 1715425932
Banner

भूकम्पबाट पीडित जनतालाई तत्काल राहत र उद्धार व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औँ बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले भने,‘अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देश गर्दछौँ । हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौँ ।’

प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताउँदै उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने बताए ।