१४ बैशाख २०८१, शुक्रबार 1714126382
समाचार

राष्ट्रपतिद्वारा काष्ठमण्डप उद्घाटन

काठमाडौं, चैत २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको पुनर्निर्माण मौलिक र आकर्षक रुपमा सम्पन्न भएको बताउनुभएको छ । २०७२ सालकाे विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सकिएको उक्त काष्ठमण्डको सोमबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

‘जनबोलीमा मरु नामले परिचित यस पवित्र काष्ठमण्डप स्थललाई केन्द्रबिन्दु मानेर जनताबाट अभिव्यक्त हुने आस्था, विश्वास, परम्परा र मूल्यमान्यता समेतलाई मध्यनजर राख्दै यो पुनर्निर्माण भएको मैले विश्वास लिएको छु ।,’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘त्यस्तैले गौरवपूर्ण मूर्त र अमूर्त सम्पदाका रुपमा हाम्रो आस्थाको रुपमा धरोहर रहँदै आएको काष्ठमण्डपको पुनर्निर्माण मौलिक र आकर्षक स्वरुपमा सम्पन्न हुनु राष्ट्रकै लागि प्रशन्नको विषय हो ।’

पुनर्निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुला गरिएको छ । राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनर्निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरुको प्रशंसा गर्नुभयो ।

विसं २०७२ को भूकम्पबाट जनजीवन, बस्ती र सम्पदालाई प्रभावित पारे पनि नेपालीले दुःख, कष्टलाई सामूहिक रुपमा मिलेर पुनः निर्माण गर्न सक्छौँ भन्ने आत्मविश्वासको पुनः पुष्टि भएको उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न यस्ता ऐतिहासिक सम्पदाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुुभयो । राष्ट्रपति भण्डारीले पछिल्ला अध्ययनबाट प्राप्त काष्ठमण्डप बारेको नयाँ तथ्यलाई आत्मसात् गर्दै नेपालभित्र रहेको ज्ञान र सीपप्रति गौरवबोध गर्नुपर्ने पनि बताउनुभयो ।