३ जेष्ठ २०८१, बिहीबार 1715867503
Banner

कोशी प्रदेशमा मध्यावधि चुनाव भए गठबन्धनको अस्थिरताका कारण हुन्छ : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा गठबन्धनको अस्थिरताका कारण मात्रै मध्यावधि चुनाव हुने बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेशको अधिवेशन उद्घाटनका लागि कोशी प्रदेश पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

प्रदेशमा अहिले मध्यावधिमा जाने अवस्था नभएको उनको भनाइ थियो ।

गठबन्धन सरकार जनताप्रति उत्तरदायी नभएको र सबै क्षेत्रमा अस्थिरता बढ्दै गएको बताएका हुन् ।

‘तत्काल कोशी प्रदेश मध्यावधिमा जान्छ कि भन्ने आशंका भइरहेका छन्’, ओलीले भने, ‘तत्काल मध्यावधिमा जान सक्ने अवस्था रहँदैन ।’

यदि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले कोशी प्रदेशमा भारी बहुमत ल्याउने उनको दाबी छ ।

कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओलीले नेतृत्व छान्ने अधिकार प्रतिनिधिलाई भएको बताए ।

‘पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको छ’, ओलीले भने, ‘अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हो, नयाँ नेतृत्व छान्ने काम प्रतिनिधिबाट नै हुन्छ ।’