१३ बैशाख २०८१, बिहीबार 1714075845
Banner

पार्टी कब्जा गर्न असफल भएपछि प्रचण्ड-माधवले दक्षिणपन्थी गठबन्धन बनाएः अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न असफल भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले दक्षिणपन्थी गठबन्धन बनाएको आरोप लगाउनु भएको छ ।

आज ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले तत्कालीन ‘नेकपा’ कब्जा गर्न प्रचण्ड र माधवले भए जति बल र वृद्धि लगाएको तर नसकेपछि दक्षिणपन्थी गठबन्धन बनाएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले प्रचण्ड र नेपालले पार्टी फुटाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप पनि लगाउनुभयो ।

प्रचण्डले मुलुकमा द्वन्द्व मच्चाएको र आफू शान्तिको पक्षमा रहेकाले आफू र प्रचण्डबीच समानता नरहेको जिकिर गर्नुभयो । ओलीले तत्कालीन नेकपा माओवादी केन्द्रलाई आफूले जबरजस्ती घिसारेर एकतामा ल्याएको उल्लेख गर्नुभयो ।