१३ बैशाख २०८१, बिहीबार 1714087725
Banner

एमाले एक्लै निर्वाचनको सामना गर्न तयार छ : नेता पोखरेल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले कुनै दलसँग तालमेल गरेर निर्वाचनमा नजाने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो । ‘एमाले कुनै दलसँग गठवन्धन गरेर स्थानीय निर्वाचनमा जादैन’ उहाँले भन्नुभयो, “स्थानीय आवश्यकताको आधारमा तालमेलबाहेक पार्टीले कसैसँग गठवन्धन गर्दैन ।”

नेकपा (माओवादी केन्द्र) सँग गठवन्धन सम्भावना छ कि भन्ने पत्रकारको जिज्ञासामा उहाले भन्नुभयो ‘माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कुनैपनि हालतमा चुनावी तालमेल हुदैन ।’ आफ्नै नेतृत्वको सरकारलाई ढलाएर काँग्रेसको नेतृत्वमा सरकार बनाउनेहरुसँग तालमेल सम्भव नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

एमालेको बिचार र कामको आधारमा हामी निर्वाचनमा जाँदैछौं, नेपालमा भएका सवै दल एकतिर लागे पनि हामी एक्लै सामना गर्न तयार छौं नेता पोखरेलले बताउनुभयो । निर्वाचन आयोग सत्ता गठबन्धनको सेटिङमा चलिरहेकाले निर्वाचन निष्पक्ष हुनेमा आशंका रहेको उहाँले टिप्पणी गर्नुभयो ।

‘चुनाव सार्ने षड्यन्त्र थियो, एमालेको दवावले त्यो सम्भव भएन, तर सेटिङको बिषाक्तको छाल आयोगमा देखिएको छ’ पोखरेलले भन्नुभयो, ‘निष्पक्षतामाथि प्रश्न उठेको छ ।’ स्थानीय निर्वाचनको मनोनयन दुई दिन तोकिनु पनि रहस्यमय रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकीमुलुक भारतको भ्रमणमा रहँदा सीमा विवाद समाधानको विषयमा ठोस उपलब्धी हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।