१३ बैशाख २०८१, बिहीबार 1714067812
Banner

नेपाली दूतावासमा चुच्चे नक्सै गायब

 भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ ।

नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ । सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन । अहिले दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा टाँसिएको छ । जबकि केही समयअघिसम्म मात्रै भारतस्थित नेपाली दूतावासका सबै कोठामा चुच्चे नक्सा थियो ।

प्र्र्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला नयाँ दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा नदेखिएपछि राजनीतिक दलले आपत्ति जनाउँदै कर्मचारीलाई कारबाही माग गरेका छन् । लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको चुच्चे नक्सा दूतावासमा नदेखिनु गम्भीर आपत्तिको विषय भएको दलका नेता औंल्याउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आपत्ति जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित दूतावासमा नभएको’ भन्दै आपत्ति जनाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले ‘प्रधानमन्त्री देउवा भारत भ्रमण गएकै बेला नयाँ दिल्लीस्थित दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभई बुच्चे नक्सा भएको’ उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।

माओवादी केन्द्रका पूर्वमहासचिव एवं पूर्वसभामुख कृष्णबहादुर महराले यस विषयमा आफूले बुझिरहेको बताए । ‘सत्य कुरा के हो ? भन्ने बुझिरहेको’ बताउँदै उनले ‘त्यसपछि केही कुरा पार्टीले बोल्ने’ उल्लेख गरे ।

‘चुच्चे नक्सा दूतावासमा नराखिएको भन्ने विषयमा सत्य के हो बुझ्दै छौं,’ उनले भने, ‘सत्य कुरा बुझेर पार्टीले यस’bout आफ्नो धारणा सार्वजनिक गर्नेछ ।’

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको चुच्चे नक्सा नहुनु गम्भीर आपत्तिको विषय भएको टिप्पणी गरे । ‘संविधान संशोधन गरेर राखिएको चुच्चे नक्सा यदि छैन भने त्यो गम्भीर विषय हो । यदि, त्यसो हो भने त्यहाँका कर्मचारीलाई कारबाही गर्नुपर्छ, यसलाई गम्भीर रूपमा लिनुपर्छ,’ प्रवक्ता खतिवडाले भने ।

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले ‘चुच्चे नक्सा दूतावासमा नदेखिएको हो भने सच्याउनुपर्ने’मा जोड दिए । दूतावास कर्मचारीबाट ‘गल्ती भएको हुन सक्ने’ बताउँदै उनले ‘त्यसलाई सच्याउनुपर्ने’ सुझावसमेत दिए । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।