७ बैशाख २०८१, शुक्रबार 1713544067
समाचार

सरकारले देशभर बढायो गाडी भाडा

काठमाडौं – सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरिय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए । यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो ।

लामो दूरीका सवारी भाडा बढेसँगै छोटो दुरीको सवारी भाडा समेत बढाउन व्यवसायीले लबिङ थालेका छन्। काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन व्यवसायीले भाडा बढाउन प्रदेश सरकारसँग माग र्दै आएका छन् ।

अब गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने भएकाले सकारात्मक निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । अब प्रदेशले पनि यसैअनुसार भाडा समायोजन गर्नुपर्ने उनले बताए ।

डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए ।२७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल(पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ ।असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । पेट्रोलको मूल्य अहिले प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।

२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

वैज्ञानिक भाडा समायोजन गर्ने सूत्रअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत र अन्य पार्टपुर्जासहित अन्य पक्षको ६५ प्रतिशत छ ।