११ बैशाख २०८१, मंगलवार 1713924527
Banner

नोवेल अस्पतालका डा.यादवको हत्या आशंकामा ६ जना पक्राउ

विराटनगर- हिजो बिहान विराटनगर महानगरपालिका ४ स्थित डेरा बसेको घरमा मृत फेला परेका डाक्टर विजय यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ। विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत चिकित्सक यादव शनिबार बिहान डेरा बसेको घरकै कम्पाउण्डभित्र मृत भेटिएका थिए। आफन्तले डा। यादवको हत्या भएको आशंका गरेपछि प्रहरीले शंकास्पद ६ जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

मृतकका आफन्तले हिजो केहीबेर नोबेल शिक्षण अस्पताल अगाडि नजिक टायर बालेर प्रदर्शनसमेत गरेका छन्।
२८ वर्षीय चिकित्सक यादव सप्तरीको राजविराजका स्थायी बासिन्दा थिए। केही वर्षदेखि उनी विराटनगरमा बसेर नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत थिए।

यादवको हत्या भएको हो कि हैन प्रहरीले आधिकारिकरुपमा खुलाइसकेको छैन।

बंगलादेशबाट एमबीबीएस अध्ययन सकेका यादव ४ वर्षदेखि अस्पतालमा कार्यरत रहेको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो। नोबेलले मोरङको कटहरीमा शुक्रबार आयोजना गरेको स्वास्थ्य शिविरमा पनि डा। यादव सहभागी भएका हुनुहुन्थ्यो। शिविरबाट फर्किएका यादव भोलिपल्ट बिहान मृत फेला पर्नुभएको हो।

नाक र मुखबाट रगत बगेको तथा शरीरका अन्य भागमासमेत चोट लागेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताउनुभयो।

डा.यादवको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ। ६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको मोरङ प्रहरीले जनाएको छ।

सुरुमा प्रहरीले यादवले घर माथिबाट हाम फालेर आत्महत्या गरेको अनुमान गरेको थियो। घटनास्थलबाट प्राप्त केही प्रमाणले भने आत्महत्याको संकेत नगरेको प्रहरीको भनाई छ।

घटनास्थल वरपर आलो रगत भेटिनु, एउटा खुट्टा जुत्ताविहीन तथा शरीरका विभिन्न भागमा चोटपटक हुनुले हत्याको आशंका गरिएको प्रहरी स्रोतको दाबी छ।

डा.यादवसहित ३ जना विराटनगरको एयरपोर्ट रोडमा रहेको तृष्णा रेस्टुरेन्टमा राति अबेरसम्म बसेको पाइएको प्रहरीले जनाएको छ।

मदिरा सेवनसहित खाजानास्ता गरेर त्यहाँबाट तीनै जना एउटै स्कुटरमा यादवको डेरातिर गएको खुलेको प्रहरीले जनाएको छ।