३ जेष्ठ २०८१, बिहीबार 1715900126
Banner

ढाकाकुमारले तीन करोड पैसा मागेको आरोप लगाएका थापामाथि छानबिन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मोहनजंग थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपाबाट निष्कासित नेता ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड पैसा मागेको आरोप लगाएपछि उनीमाथी पार्टीले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले आफूलाई मन्त्री बनाउन रविका कोर टिमले पैसा मागेको अडियो सार्वजनिक भएपछि उनी पार्टीबाट निष्कासित भएका थिए । पछिल्लो समय श्रेष्ठले मन्त्री बनाउन थापाले तीन करोड मागेको कुरा सञ्चारमाध्यममार्फत खुलासा गरेका थिए । सोही विषयलाई लिएर रास्वपाले आज विज्ञप्ति जारी गर्दै थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै पार्टीका कुनै नेताले पैसाले लिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । तर श्रेष्ठले लगाएको अरोपको खण्डन गर्दै थापाले पैसा मागेको विषय झुठो र कपोल्कल्पित भएको बताएका थिए ।