५ जेष्ठ २०८१, शनिबार 1716045655
Banner

रुस पुगे उत्तर कोरियाली नेता किम,हतियारसम्बन्धी सम्झौता हुने सम्भावना

काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुस पुगेका छन् । उनी आफ्नो हरियो रेल चढेर मंगलबार बिहानै रुस पुगेका हुन् ।
किमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कार्यक्रम छ ।

हालै मात्र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले रुस र उत्तर कोरियाबीच हतियारसम्बन्धी वार्ता तीव्र गतिमा अघि बढेको नयाँ जानकारी प्राप्त भएको बताएको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्काअनुसार युक्रेनविरुद्धको युद्धमा रुस कमजोर भइरहेको छ, जसकारण उसले उत्तर कोरियाली हतियार चाहन्छ । युक्रेनलाई हतियार दिइरहेको अमेरिकाले उत्तर कोरियाले रुसलाई हतियार दिन नहुने प्रतिक्रिया दिइसकेको छ । उत्तर कोरिया र रुसले परमाणु हतियारका विषयमा सहकार्य गर्नेमा पनि अमेरिका चिन्तित छ ।

बीबीसीको रिपोर्टअनुसार किम चढेको रेलमा कम्तीमा २० बुलेटप्रुफ कार पनि राख्ने गरिन्छ, जसकारण उक्त रेल औसत रेलहरू भन्दा भारी हुन्छ । यसकै कारण उक्त रेललाई विस्तारै चलाइन्छ । रेल ढिला कुदाउने गरिएकै कारण किम जोङ उनलाई हाल ११८० किलोमिटरको यो यात्रा पूरा गर्न २० घण्टाभन्दा बढी समय लागेको हो । किमको हरियो रेल भारी बख्तरबन्द सुरक्षाको कारण लगभग प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्र चल्छ ।

रेलबाहेक किम विमान पनि चढ्छन् । किमले स्वीट्जरल्यान्डको विद्यालयबाट शिक्षा लिएका थिए । जसका कारण किम जोङ उनका लागि हवाई यात्रा कुनै नौलो कुरा होइन ।

Tags :