१२ बैशाख २०८१, बुधबार 1713994954
Uncategorized

बारले एक घण्टा विरोध कार्यक्रम जारी राख्ने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि नेपाल बार एशोसिएसनले सुरु गरेको आन्दोलन दुई महिनाभन्दा बढी भएको छ ।

सर्वोच्च परिसरमा धर्ना दिँदै आएको बारले अहिले पनि हरेक दिन विहान ११ देखि १२ बजेसम्म धर्ना जारी राखेको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बारले जबराको राजीनामा माग गर्दै आइरहेको छ ।

आन्दोलनकै क्रममा बारले मङ्सिर ६ गते प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस क्रममा सभामुख सापकोटाले बारको ध्यानाकर्षण पत्र बुझ्दै न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्ने सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।

साथै, सपकोटाले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिनुभएको थियो ।

‘हामीले उहाँहरुलाई भेटेर वास्तविकताबारे जानकारी गराएका थियौं । अब त्यो कुरा अगाडि बढाउने नबढाउने उहाँहरुको कुरा हो ।’ बारका महासचिव अधिवक्ता पौडेलले भन्नुभयो, ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कुरा गर्यो ।’ पौडेलले जारी आन्दोलनबाट प्रधानन्यायाधीश जबराको राजीनामा मात्र नमागेको जानकारी दिनुभयो ।

प्रधानन्यायाधीशको जबराको राजीनामा सँगसँगै न्यायालय सुधार सुझावसहितको प्रतिवेदन कार्यान्वयन र सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेशी तोक्नुपर्ने विषय पनि उठाएको उहाँले बताउनुभयो । यद्यपि, गोलाप्रथाबाट पेशी तोक्ने माग भने पूरा भइसकेको छ । ‘यसबाहेक अरु माग पूरा गर्न प्रधानन्यायाधीशज्यू बाधक हुनुभएको छ । यसका लागि उहाँको बहिर्गमन आवश्यक छ ।,’ पौडेलले भन्नुभयो, ‘उहाँ सँगसँगै बसेर काम गर्न सक्ने अवस्था छैन ।

साथै, उहाँले न्यायपरिषद्, न्याय सेवा आयोगलगायत अन्य क्षेत्रमा देखिएका विकृति, विसंगति र भ्रष्टाचार समाधान गर्दै कार्यान्वयन गर्न सक्ने अवस्था पनि देखिएन ।’ बारका महासचिव अधिवक्ता पौडेलले जबसम्म प्रधानन्यायाधीश जबराले राजीनामा दिनुहुन्न तबसम्म विरोध कार्यक्रम निरन्तर एक घण्टा जारी रहने बताउनुभयो । यस विरोध कार्यक्रमबाट नागरिकका कामहरुलाई नरोक्ने पनि उहाँले बताउनुभयाे ।