१३ बैशाख २०८१, बिहीबार 1714060920
Banner

प्रधानमन्त्री देउवा र समकक्षी मोदीले गरे जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर कुर्था रेल उद्घाटन गर्नुभएको छ । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि आइतबारबाट रेल नियमित चल्ने भएको छ ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हो । यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु भएको छ ।

शनिबार रेल उद्घाटनपछि रेलगाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने छन् । अन्तरदेशीय रेल सेवाका रुपमा सञ्चालन हुने रेलमार्गमा जकनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ । उहाँ कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनुहुनेछ भने रेल पुनः जयनगर जाने छ ।

आइतबारदेखि दिनको दुई पटक आउने र दुई पटक जाने गरी समयतालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।
हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने छ । ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिनेछ ।