५ जेष्ठ २०८१, शनिबार 1716048357
राजनीति

चीनद्वारा जारी नक्साका कारण नेपालको राष्ट्रियतामा झन् प्रश्न उठ्यो : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले चीनले जारी गरेको नयाँ नक्साले नेपालको राष्ट्रियता चुनौती बनेको ठहर गरेको छ ।

शनिबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘चीनले समेत कालापानीको विषयमा भारतको पोजिसनलाई घुमाउरो प्रकारले समर्थन गरेर नक्सा जारी गरेकोले नेपालको राष्ट्रियताको रक्षाको प्रश्न झन् चुनौतीपूर्ण बनेको छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियताको रक्षाका लागि बैठकले संघर्षमा जोड दिएको छ ।’

मुलुकको राष्ट्रियतामाथि पनि गम्भीर खतरा उत्पन्न भएको पनि पार्टीले बताएको छ । बैठकको निर्णय सार्वजनिक गर्दै भनिएको छ, ‘एकातर्फ भारतीय साम्राज्यवाद अर्कोतर्फ अमेरिकी साम्राज्यवादले नेपालको राष्ट्रियतामाथि निरन्तर हस्तक्षेप र दबाब दिइरहेका छन् ।

एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई कार्यान्वयनमा लगेर नेपालको असंलग्न परराष्ट्र नीति धराशायी हुने र नेपाल विदेशीहरूको क्रिडास्थल बन्ने खतरा उत्पन्न भएको हुनाले बैठकले एमसीसीको खारेजीमा जोड दिने ठहर गरेको छ ।’

Tags :