१३ बैशाख २०८१, बिहीबार 1714055561
Banner

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमाः पर्यटन राज्यमन्त्रीले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुग्नुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा तीन दिने भ्रमणका लागि देउवा आज भारततर्फ जानुभएको हो । ४० सदस्यीय टोलीको नेतृत्व गर्दै जानुभएका देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गनुभएको छ ।

प्रधानमन्त्री देउवासँग स्थानीय समय अनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा जाने कार्यक्रम रहेको छ ।

शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जाने कार्यक्रम छ । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ ।

शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।