५ जेष्ठ २०८१, शनिबार 1716025626
Banner

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ । ट्रम्पको जेलबाट आधिकारिक तस्बिर, जसलाई मगसट भनिन्छ, जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

ट्रम्पको जमानतको लागि दुई लाख डलर तोकिएको छ । यस महिनाको सुरुमा, जर्जियाका एक अभियोजकले रिपब्लिकन नेता र पूर्व राष्ट्रपति विरुद्ध थुप्रै आरोप लगाएका थिए । जो बाइडेनमार्फत् पाएको पराजयलाई प्रभावकारी रूपमा उल्टाउने षड्यन्त्रमा संलग्न भएको आरोप उनीमाथि छ ।

ट्रम्पले अदालत वा सङ्घीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो । यसअघि पनि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीन पटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाका अनुसार सन् २०२३ अघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन ।

फुल्टन काउन्टी जेलको बुकिङ सिटमा डोनाल्ड ट्रम्पको नाम राखिएको छ । यसले उनी विरुद्ध लगाइएको १३ आरोप, कथित अपराधको मिति र जमानत विवरणहरू पनि सूचीबद्ध गर्दछ । ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।