२०७९ आश्विन १९ बुधबार 1665018108
Banner

पूर्वीय भक्ति परम्परा र हाम्रो राजनीति

नेपाली राजनीतिक वृत्तमा अक्सर हनुमानगिरिको चर्चा हुने गर्छ । एक नेताका समर्थकलाई अर्का नेताका समर्थकले ‘हनुमान’ भनेर गाली गर्ने गरेको पाइन्छ । तत्कालिन नेकपाका दुई पक्षबीच विवाद उत्कर्षमा हुँदा ‘सत्ताका हनुमान,’ के पीका हनुमान’, प्रचण्डका हनुमान भन्ने पदावलीबाट धेरै सुशोभित भए । यो क्रम अहिले पनि जारी नै छ । के साँच्चै हनुमानले स्थापित गरेको संस्कृति खराब नै थियो ? के यो विश्व समाजमा रहेको मानव परम्पराले बोकेर ल्याएको बोझ, विकृति वा विसङ्गतिमात्र हो ?

पुर्वीय संस्कृति आधारभूत रुपमा भक्तिको संस्कृति हो, समर्पणको संस्कृति हो । हिन्दु धर्मावलम्वीका प्रमुख देवता महादेवका नन्दी भृङगी थिए । उनको भक्तिभाव र सेवा गर्थे । महादेवलाई उनीहरु कुनै प्रश्न, चासो वा गुनासो गर्दैनथे । महादेवको जयजयकार र सेवा गर्नु नै उनीहरूको परम कर्तव्य थियो । त्यतिबेलाको राजनीति नै त्यस्तो थियो ।

नारद ऋषिले विष्णुलाई यस्तै भक्तिभाव र सेवा गर्थे । त्रेता युगमा रावणले आफ्नी भार्या सीता हरण गरेपछि जङ्गलमा विचरण गरिरहेका रामलाई सुग्रीब र हनुमानजस्ता वानरको साथ मिल्यो । सबै वानर रामका भक्तै थिए, तर हनुमान रामका विशेष भक्त थिए । रामप्रतिको हनुमानको भक्ति अपरम्पार थियो । रामप्रतिको उनको भक्ति निःशर्त र निस्स्वार्थ थियो । उनी आफ्नो छाती च्यातेर रामसीता हृदयमा रहेको देखाउँथे भनिन्छ । आधूनिक व्याख्याले उनले आफ्नो लुगा खोलेर छातीमा बनाएको रामसीताको ट्याटु देखाए होलान् भन्न पनि सकिन्छ । जे होस्, हनुमानको स्वामी भक्ति अद्वितीय थियो । तर हनुमान दिइएको आदेशमात्र तामेल गर्ने आधुनिक रोबोटजस्ता थिएनन् । उनी सचेत, विवेकी र सृजनात्मक भक्त थिए । सीता खोज्न क्षार समुन्द्र तरेर लङ्का पुगेका हनुमानलाई लङ्का जलाउनु भन्ने रामको आदेश थिएन । तर हनुमानले राम र रामका सेनालाई उत्साही र रावणका सेनालाई निरास बनाउन लङ्का जलाइ दिए ।

हनुमानको भक्ति यति उत्कृष्ट थियो कि द्वापर युगमा कृष्ण समेत अघिल्लो युगका आफ्ना भक्त बुढा हनुमान भेट्न गएका थिए भनिन्छ । यसबाट बुझिन्छ, हनुमानगिरि केवल वन वे ट्राफिक मात्र थिएन । यो टु वे ट्राफिक थियो । हनुमान यति शक्तिशाली थिए कि उनका स्वामीलाई मात्र हिन्दू धर्मले भगवान मानेन, हनुमान स्वयम्‌लाई पनि भगवान मानेर उनको नाममा भजन कीर्तन गर्न थाल्यो ।

हज्जारौं बर्ष पहिले पूर्वमा शुरु भएको स्वामी– भक्त संस्कृति युगान्तरण, धर्मान्तरण र पुस्तान्तरण हुदै समकालिन नेपाली र विश्वकै राजनीतिमा आइपुगेको छ । नेता–कार्यकर्ता संस्कृतिमा आइपुगेको छ । हिन्दु परम्परा, बौद्ध परम्परा, ख्रीष्टियन परम्परा र मोहम्मद परम्परामा यस प्रकारको निःशर्त र निस्वार्थ भक्तिका अनेकन दृष्टान्त छन् । यो जीव(जीवबीचको सम्बन्ध वा मानव(मानवबीचको सम्बन्धको इतिहास हो । विश्वमा प्रचलित प्रत्येक धर्मले ुहनुमानु संस्कृतिको जगेर्ना गर्दै आएको छ ।

राम पनि कुनै युगका नेता थिए । राजनीतिका केन्द्रविन्दु थिए । हनुमान उनका एक बफादार कार्यकर्ता थिए । रामराज्यका हर्ताकर्ता थिए । हजारौं वर्ष संसारमा चलेको राजतन्त्रका यस्तै भक्त थिए । करिब साढे दुई सय वर्ष चलेको नेपालको राजतन्त्रका बग्रेल्ती भक्तहरु अर्थात् ‘हनुमान’हरू थिए । पञ्चहरू राजतन्त्रका ‘हनुमान’ नै थिए । पञ्चायतकाल भरि ‘सबै नेपाली पञ्च’ भन्ने नारा समेत चलाइएको थियो । पञ्चहरूमार्फत् राजाको एकोहोरो जयजयकार गराइन्थ्यो । उनीहरूको द्विविधारहित निष्कर्ष थियो राजतन्त्र नै नेपालको अन्तिम र एकमात्र सत्य हो ।

पञ्चायतमा मात्र होइन,नेपालको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसबाट सबभन्दा बढी प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाका ‘हनुमानहरूको पनि चर्चा हुन्थ्यो कुनैबेला । हनुमान हुने तँछाडमछाड राजनीतिमा निरन्तर चलिआएको हो ।

हरेक विषयमा संदेह गर भन्ने कार्ल मार्क्स र मार्क्सवादका अनुयायी नेपालका वामपन्थी पार्टीहरुमा समेत हनुमानगिरिको चर्चा व्यापक बन्दै गएको छ । मार्क्सले हरेक विषयमा संदेह गरु भने पनि जब मार्क्सवाद कम्युनिष्ट पार्टी संगठनमा अभिव्यक्त हुन थाल्यो, त्यो अवस्था रहेन । हरेक सिद्धान्त, नेता र निर्णयलाई संदेह गर्न सक्ने अवस्था रहेन । व्यक्ति (नेता) प्रतिको भक्ति वामपन्थी राजनीतिमा अवाञ्छित मानिएन । बरु यसलाई एक अनिवार्य शर्तको रुपमा विकसित हुदै आयो । कम्युनिष्ट आन्दोलनमा नेता भक्तिलाई शक्ति प्राप्त गर्ने साधनको रूपमा प्रयोग भयो, भइरहेछ ।

लेनिनको पालामा लेनिनको अगुवाईमा बनेको रसियन सामाजिक जनवादी मजदुर पार्टीमा लेनिनका ‘हनुमान’बनेका मार्तोव पछि छुट्टिए । मेन्सेविकका नेता बने । चीनमा भएको दीर्घकालीन जनयुद्धताका माओका कट्टर अनुयायी लिन प्याओ समयक्रममा माओलाई नै सिध्याउने षणयन्त्रमा लागेपछि उनको हुर्मत भएथ्यो ।

कुनै वेलाका हनुमान वर्ग शत्रु र कुनै वेलाका बर्ग शत्रु ‘हनुमान’ मा रुपान्तरण हुने प्रथा नेपाली बाम आन्दोलनमा चलिरहेकै छ । नेपालको बाम राजनीतिमा रामभक्त हनुमानजस्तो स्थायी ‘हनुमान’ कोही छैनन् । परिवेश र अजेण्डामा कोही नेताको वा कुनै विचारको पक्षमा लामबद्ध हुने कुरा परम्परागत हनुमानगिरिसंग मेल खाने कुरा होइन ।

विचारको आधारमा हुने निकटतालाई हनुमानगिरि भन्न मिल्दैन । नेकपा एकताका बखत ओलीलाई आफ्ना नेता वा कमाण्डर बनाएका प्रचण्डले पछि लिन प्याओकै शैलीमा ओलीलाई सिध्याउने षणयन्त्रमा सामेल भए । प्रचण्डको शुरूको ओली भक्ति नक्कली निस्क्यो । एमाले कब्जा गर्ने उदेश्य मिसिएको भक्ति प्रमाणित भयो ।

रामप्रति हनुमानले गरेको जस्तै कुनै नेता वा अग्रजको पक्षमा निःस्वार्थ र निःसर्त समर्थन र सेवा कुनै न कुनै रुपमा समाजमा चलिरहन्छ । यस्तो सक्कली हनुमानगिरि आरोपयोग्य हुदैन,हुनु पनि हुदैन । कसैप्रति निष्ठा व्यक्त गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकार हो । र, यस्तो प्रवृत्तिले समाजमा कसैले कसैप्रति विश्वास नगर्ने अराजक स्थितिलाई नियन्त्रण गर्न मद्दत गर्छ । तर आफ्नो स्वार्थको लागि कसैप्रति क्षणिक ओठे भक्ति दर्साउने वा हनुमानगिरि गर्ने कुरा नक्कली हो । यसले ‘भक्ति’ गरिने र गर्ने दुवैलाई कालान्तरमा नोक्सानी पर्याउछ ।

कम्युनिष्ट राजनीतिमा नेताहरुको टकराव हुँदा वा कुनै वैचारिक संघर्ष हुँदा कम्युनिष्टहरु द्वन्दात्मक भौतिकवादी हुने हुनाले उनीहरुमा आलोचनात्मक चेत हुनुपर्छ भन्ने गरिन्छ । आलोचनात्मक चेत नहुने कम्युनिष्ट नै हुन नसक्ने निष्कर्ष समेत सुनाइन्छ । तर यसको एउटा शर्त छ( आफ्नाले आफूलाई आलोचना गर्न नहुने । विरोधी वा विपक्षीको चाहिँ उछित्तो काड्नु पर्ने । भए नभएका फुर्का जोडेर पनि विरोध गर्नु पर्ने ! विचार, तथ्य र तर्कको आधारमा नभै क्षुद्र शब्दको प्रयोग गरेर गरिने गालीलाई आलोचनात्मक चेत भन्ने गरिन्छ । कुनै वस्तु, घटना, प्रक्रियालाई द्वन्दवादी ढङ्‌गले हेर्ने र विश्लेषण गर्ने कामलाई आलोचनात्मक चेतसंग जोडेको भए यो सङ्‌गतिपूर्ण मान्न सकिन्थ्यो । यस्तो नक्कली आलोचनात्मक चेतभन्दा सक्कली हनुमानगिरि बरु समाजको लागि हितकर हुनसक्छ । तर नेपालको कम्युनिष्ट आन्दोलनमा आलोचनात्मक चेत त गाँजरको बाँसुरीजस्तो मात्र भयो–मन परे बजाउने, मन नपरे चपाउने !

राजनीतिमा देखा पर्ने यस्ता प्रवृत्तिलाई अन्धधुन्ध विरोध गर्नुभन्दा त्यसको सक्कली र नक्कली पन छुट्याएर आलोचना वा विरोध गर्नु सभ्य समाज निर्माणको एक प्रमुख शर्त हो । सभ्य समाजको लागि ताली संस्कृति र गाली संस्कृतिमा समयसापेक्ष परिष्कारको आवश्यकता छ । मानिसले मानिसलाई भगवान ठान्नु र जयजयकार गर्नुभन्दा ‘भगवानलाई पनि मानिस नै मानेर सबैलाई यथोचित सम्मान र सद्भावको परम्परा बसाल्ने साहस समाजवादको लक्ष राख्नेहरूले शुरू गर्नै पर्छ ।