३ बैशाख २०८१, सोमबार 1713183437
Banner

न्याय माग्न आएकी ‘बलात्कृत’लाई नै जेल ?

अछाम — आफैंमा दुर्गम जिल्ला अछामको पनि एउटा दुर्गम गाउँकी १९ वर्षीया किशोरीको जीवनमा वज्रपात आइलागेको छ । बिहेको प्रलोभनमा आफूमाथि बलात्कार गर्ने पुरुषलाई सजाय माग गर्दै गत फागुनमा उनी अदालत गएकी थिइन्, नेपालमा विरलै हुने ‘तीव्र गति’ को सुनुवाइबाटै एक महिनामै फैसला आयो । अदालतले आरोपित पुरुषलाई इज्जतपूर्वक सफाइ दिँदै किशोरीलाई भने साढे तीन वर्ष जेल पठाउन आदेश दिएको छ ।

अदालतमा झूटो बयान दिन, पुरुषलाई जानाजान फसाउन महिलाहरूले ‘षड्यन्त्र’ बुनिरहेका हुन्छन् भन्ने मानसिकतालाई यो घटनाले राहत दिएको छ । महिलालाई यसरी पनि सबक सिकाउनुपर्छ भन्ने बहसलाई यो फैसलाले बलियो पनि बनाएको छ । तर ‘षड्यन्त्रको सिद्धान्त’ पछाडि निरीह पात्रलाई कसरी प्रताडित गरिन्छ भन्ने स्पष्ट पार्न यो ‘न्युज स्टोरी’ म आफ्नै शैलीमा प्रस्तुत गर्दै छु ।

गत फागुन १० मा दर्ता भएको मुद्दाको फैसला ठ्याक्कै ३३ दिनमा आयो, गत आइतबार फैसला आए पनि चार दिनसम्म यो विषयमा चर्चा भएको थिएन । ‘नजिर नै बसाउने’ फैसला हुँदा पनि कतै चर्चा नभएको भन्ने मानसिकताले होला, अछाम जिल्ला अदालत प्रशासनले नै बुधबार हामी पत्रकारलाई समाचार टिपायो । अदालतभन्दा भरपर्दो समाचार स्रोत के हुन्छ ? त्योमाथि फैसलाको प्रतिलिपि पनि साथमा थियो । त्यसैले अछामका सबैजसो पत्रकारले आ–आफ्ना समाचार फाइल गर्‍यौं । समाचार एकसे एक सञ्चारमाध्यममा भाइरल पनि भए ।

‘न्याय माग्न गएकी किशोरीलाई जेल पठाउने’ फैसला आम होइन । दोषी हो भने पुरुष वा महिला जोसुकैलाई पनि दण्ड हुनुपर्छ । तर, यति ठूलो अपवाद सिर्जना गर्नुअघि स्वयं अदालत घटनाको अवस्थिति र दुवै पक्षको मनस्थितिमा संवेदनशील भयो वा भएन भन्ने विषय महत्त्वपूर्ण थियो । त्यो खोज्नु प्रेसको दायित्व पनि हो । किशोरी जोसँग बिहे गर्न तयार भएकी थिइन्, उसैले बलात्कार गर्‍यो भन्दै अदालतमा किन गइन् ? प्रहरी र सरकारी वकिलका अगाडि दिएको बयान उनले अदालतमा किन फेरिन् ? अदालतमा अरूले पनि बयान फेर्छन् तर त्यसका पछाडि पीडितलाई ललाइफकाई गर्ने, आर्थिक प्रलोभन दिने, सामाजिक तथा मानसिक यातना दिने उपक्रमहरू पनि चल्छन् । दुर्गम गाउँकी एक निरक्षर किशोरीले बयान फेर्नुअघि त्यस्ता यन्त्रणा भोग्नुपरेको पनि हुन सक्छ भनेर न्यायमूर्तिले विवेक पुर्‍याए कि पुर्‍याएनन् ? अथवा समग्रमा अदालतले यो मुद्दा सुल्झायो कि बल्झायो ? यी यावत् प्रश्नले बुधबार रातभर मेरो निद्रा बिथोलिरह्यो ।

सन्दर्भ उत्खनन गर्न म बिहानैदेखि काममा जुटें । सबैभन्दा पहिले भेट्नुपर्ने थियो, ‘खतरनाक षड्यन्त्र’ गरेका कारण अदालतद्वारा दण्डको आदेश पाएकी ती किशोरी । विभिन्न स्रोत प्रयोग गर्दै उनको सम्पर्क नम्बर खोज्न थालें । बलात्कारको मुद्दा सरकारवादी हुने भएकाले उनको अवस्था बुझ्न सरकारी वकिल कार्यालयमा सम्पर्क गरें तर नम्बर पाउन सकिनँ । जिल्ला प्रहरीमा सम्पर्क गरें । प्रहरी प्रमुखबाट जवाफ आयो, ‘हामीले बुझ्न पठाएका छौं, भरेसम्म जानकारी आइहाल्ला ।’ तर मलाई भरे, भोलि होइन, आजै र अहिले नै उनीबारे बुझ्नु थियो । पलपल ढिला भइरहेको थियो ।

पत्रकारिताकै क्रममा गाउँ–गाउँ जाँदा बनाएको सम्बन्धलाई प्रयोग गरें । एक ठाउँबाट उनको नम्बर पत्ता लाग्यो । हतारहतार डायल गरें । तर तुरुन्तै आवाज आयो, ‘तपाईंले सम्पर्क गर्न खोज्नुभएको नम्बर स्वीच अफ गरिएको छ ।’ म मंगलसेनमा थिएँ,

अब उनको गाउँ कमलबजार जाने विचार गरें । दूरी करिब ४५ किलोमिटर छ । त्यसैले साँफेबगरबाट आफ्नै दाजुलाई बोलाएर मोटरसाइकलमा किशोरीको घरसम्म पुग्ने योजना बनाएँ । मेरो काममा साथ दिन दाजु पनि मोटरसाइकल लिएर आउन तयार हुनुभयो । गाउँ जाने बाटोको विषयमा चर्चा गर्दैगर्दा एक जना युवकको नाम सम्झिएँ जो ती किशोरीका गाउँले थिए । संयोग, उनको फोन लागिहाल्यो । निकै प्रयास गरेपछि उनले किशोरीको नम्बर पनि दिए ।

फोन लाग्यो । फोन ‘अफ’ थिएन तर किशोरीको मनस्थिति ‘अन’ थिएन । खासमा आफूमाथि चार दिनअघि नै आइलागेको विपत्तिको खबर उनले भर्खरै पाएकी रहिछन् । जब कि उनको खबर राष्ट्रिय समाचार बनिसकेको थियो । आफूलाई ३ वर्ष ६ महिना कैदको फैसला भएको र प्रहरीले कुनै पनि बेला पक्रन्छ भन्ने उनले भर्खरै सुनेकी रहिछन् । । मेरो फोन उठाइन् तर झस्किन् । मैले बिस्तारै सोधें, ‘बहिनी तिमी कहाँ छौ ?’ उनले जवाफ दिइन्, ‘रामारोशन ।’

मुद्दामा रामारोशनका युवक जोडिएकाले उनी उतै गइछन् जस्तो लाग्यो । तर किन, कसरी, कहिले भन्ने प्रश्नको जवाफ लिन मैले पाइनँ । किनकि केहीबेर मौन बसेर उनले फोन काटिन् । मैले फेरि फोन गरें । मोबाइल ‘स्विच्ड अफ’ भइसकेको रहेछ । म उनको गाउँ कमलबजार जान तयार भएकी थिएँ, जुन मंगलसेनबाट करिब साढे २ घण्टा पूर्व । तर उनले करिब त्यति नै दूरीको उल्टो भूगोलको रामारोशनमा छु भनिन् । यता जाने कि उता ? बिलखबन्दमा परें ।

उनको फोनमा पनि मैले प्रयास गरिरहेकी थिएँ । केहीबेरमा फोन खुल्यो । मैले प्रस्ट भनें, ‘म पुलिस होइन । तिम्रो विषयमा जानकारी लिन खोजेकी हुँ, पत्रकार हुँ । मबाट तिमीलाई अन्याय हुँदैन, तिमी अन्यायमा परेको भन्ने प्रस्ट भयो भने तिम्रो पक्षमा आवाज उठाउँछु ।’

फोनमा लामो कुरा गरेपछि उनले आफू रामारोशन होइन, मंगलसेनमै भएको जानकारी दिइन् । अस्पताल नजिकै छु भनेपछि ‘तिमी त्यहीं बस, म आउँछु’ भनें ।

संयोग पनि कस्तो भने मेरो घर पनि जिल्ला अस्पताल नजिकै छ । घर र जिल्ला अस्पतालको बीचमा मध्यपहाडी लोकमार्ग छ । त्यही बीचमा जंगल छ । लोकमार्ग हुँदै घरबाट ५ सय मिटर पर मात्र पुगेकी थिएँ, एक किशोरी जंगलमा माथितर्फ जाँदै गरेको देखें । आत्तिएकी, कपाल छोडेकी ती किशोरीको असामान्य व्यवहारले मलाई लाग्यो– कतै उनै त होइनन् ?

उनी माथितर्फ जाँदै थिइन्, मैले फकाएर बोलाएँ । हडबडाइरहेकी उनी एकोहोरो रुन थालिन् । खासमा मुद्दा दर्ता र बयान भएपछि फैसला कहिले हुन्छ भन्ने उनलाई थाहा थिएन । मुटुको बिरामी उनी सानै हुँदा खुट्टा भाँचिएको रहेछ । बेलाबेलामा खुट्टा दुख्ने भएकाले उनी औषधि लिन जिल्ला अस्पताल आएकी रहिछन् । तर, ‘तिमीलाई त साढे तीन वर्ष जेल हाल्ने भए, केटो त छुट्यो’ भन्ने खबर सुनेपछि उनी अस्पतालबाट निस्केर जंगल पसेकी रहिछन् ।

सडकमा धेरै कुरा गर्न सक्ने अवस्था थिएन । उनलाई सम्झाइबुझाइ अस्पताल नजिकको एक होटलमा लिएर गएँ । उनी मसँग खुलेर बोल्न सकिरहेकी थिइनन् । जेल सजायको खबर सुनाएका आफन्तले बिहीबार ४ बजेसम्म तिमीलाई जेलभित्र लैजान्छन्, प्रहरीले खोजिरहेको छ भन्ने सुनाएका रहेछन् । त्यसैले खोजी–खोजी भेट्न आउने मलाई पनि उनले प्रहरी नै हो भन्ने ठानेकी रहिछन् । ‘तमि मलाई जेल लिन आयाकी हौ ? म त जेल जान्नँ । म पीडामा छु । घर मेरी आमालाई पन यी कुडा था छैन,’ यति भन्दै रुन थालिन् ।

मैले पत्रकार हुँ भनेर फोनमै भनेकी थिएँ, यसपालि परिचयपत्र देखाएँ । तर उनले भनिन्, ‘मुलाई पढ्न आउँदैन । १ कक्षा पास भएर दुई कक्षा गयाका बेला स्कुल छाड्याकी हुँ ।’ परिचयपत्र पनि उपयोगी नभएपछि मैले उनलाई संवादबाटै विश्वासमा लिने कोसिस गरें । लामो कुराकानीपछि उनले आफ्नो कथा खोलिन् ।

खासमा १९ वर्षकी किशोरी र २० वर्षका युवकको चिनजान पहिले नै भएको रहेछ, फोनमा कुराकानीपछि बिहेको प्रस्ताव लिएर गत माघ १५ मा तीन जना युवक किशोरीको घरमा आएका रहेछन् । ‘हामी एकअर्काले मन पराएर पहिलेदेखि कुडा हुन्थ्यो । केटो बम्मै थ्यो । मुसँग बिहे गर्छु भनेर बम्मैबाट आयाको भन्थ्यो । त्यस दिन तिनीहरू मलाई माग्न घरमा आयाका हुन् ।’

६० वर्षकी एकल आमाले छोरी दिने कि नदिने भनेर निर्णय गर्नुपर्ने थियो किनकि घरमा आमा छोरीमात्रै थिए । ‘म ५ वर्षकी छँदा बुबाको मृत्यु भयाको हो । दाजु इन्ड्या छन्, त्यो बेला भाउजू माइत गयाकी थिइन् । आमा र ममात्र घरमा थियौं । त्यही दिन मैले पल्लो घरको बहिनीलाई पनि बस्न आइजा भनेर बोलायाकी हुँ ।’

केटाकेटी बिहेका लागि तयार थिए । परिवारबाट औपचारिक निर्णय हुन बाँकी थियो । तर, टाढाबाट आएका केटा पक्ष राति किशोरीकै घरमा बसे । ‘मेरो घरमा दुई वटा मात्र कोठा छन् । केटाहरू म सुत्ने कोठामा सुतेको हुन् । म, बहिनी र आमा अर्को कोठामा सुत्ने बन्दोबस्त भयाको थियो । तर म सुत्ने कोठामा औषधि छुटेपछि ल्याउन गएको बेला माग्न आएको केटाले मलाई आफू भएतिर तानेर जबर्जस्ती गर्न थाल्यो । भुइँमा भएका दुई जनाले यस्तो किन गर्छस् भनेर सोध्या पनि हुन् । यो अब मेरी श्रीमती हो भन्दै उनीहरूकै अगाडि शारीरिक सम्बन्ध राख्यो । यसो नगर भन्दै म कराएँ, अब तु मेरी श्रीमती होई । धेरै नबोल भनेर थर्कायो, फकायो ।’

एक पटक शारीरिक सम्बन्ध राखेपछि केटाले राति नै भागौं भनेर प्रस्ताव राखेको किशोरीको भनाइ छ । ‘श्रीमती नै भइस् भन्दै अहिले नै हिँड भन्यो । अब मेरो श्रीमान् नै हो, ठीक छ भनेर म पनि पछिपछि लागें,’ उनले भनिन्, ‘राति नै घरबाट निस्केर गैरीटाड र विनायकको बीचको जंगलमा पुगेपछि उसले साथीहरूलाई अगाडि जाऊ भन्यो । अनि, त्यही जंगलमा शारीरिक सम्बन्ध राख्न थाल्यो । घरबाट त्यही केटासँग बिहे गर्न हिँडेकाले उसले भनेको कुरा नाइँ भन्न म पनि सक्यान् । तर उसले एकदम नराम्रो व्यवहार देखाउन थाल्यो । वीर्यसमेत मेरो शरीर र टाउकोमा फ्याँक्यो ।’

जंगलमा शारीरिक सम्बन्ध राखेपछि भने केटाले मध्यरातमा अलपत्र पारेको किशोरीको दाबी छ । ‘सम्बन्ध राखेपछि त उसले मलाई त्यहीँ छाडेर हिँड्न थाल्यो । तु आफ्नो घर जा भन्न लाग्यो । तँ त जो केटासँग पनि हिँड्ने केटी होई । तुसँग म बिहे गर्न सक्दैन । तुलाई मेरो घरमा स्विकार्दैनन् भन्न लाग्यो । ऊ मलाई छाडेर हिँडिगयो । अब म कहाँ जान्या ? घर पनि जान सकिनँ । गैरीटाड पुलिसमा गएर सुनाएपछि प्रहरीले केटालाई पक्राउ गर्‍याको हो ।’

रुँदै यति भनेपछि ती किशोरीले एकैछिन लामो सास फेरिन् । हुन पनि प्रहरीमा उजुरी परेपछि उनको दुःख थपिएको थियो । स्थानीयदेखि जिल्लास्तरका टाठाबाठाले उनलाई आर्थिक आश्वासन दिएर बयान फेर्न दबाब दिन थालेको उनको भनाइ छ । एकातिर ६० वर्षकी एकल आमा र १९ वर्षकी छोरी, अर्कोतिर केटाका तर्फबाट दबाब दिन तयार भएका अगुवाहरू । अरूको आश्वासन उनले सुनिनन् । थुनामै रहेको केटाले सिधै फोन गरेर उनलाई फकाउन थालेपछि भने उनको मन पग्लिन थाल्यो । ‘बेलाबेलामा फोन गरेर म बिहे तुसँग नै गर्छु । जे–जे भएको हो, हाम्रो सहमतिमा भएको हो भनेर बयान फेर भन्दै दिनका दिन फोन गर्न लाग्यो । बाहिर निस्केपछि बिहे गरेर बम्मै लैजान्छु भन्यो,’ उनी भन्छिन् ।

केटोलाई उनले मन पराएकी थिइन् । त्यसैले राति ऊसँग भागेकी पनि थिइन् । तर बिहेको प्रलोभनमा पारेर शारीरिक सम्बन्ध राखेपछि छाडेकाले उजुरी दिन गएकी थिइन् । तर बिहे गर्छु र मुम्बई पनि घुमाउँछु भनेपछि उनी फेरि सकारात्मक भइन् । भनिन्, ‘केटाले मात्र होइन, सबैले मलाई बयान फेर्न दबाब लिन थाले । बयानमा के–के भन्ने भनेर पनि सिकाए । त्यही भएर बकपत्रको दिन मैले केटालाई लगाएको आरोप झूटा हो, शारीरिक सम्बन्ध पनि सहमतिमा राखेको हो । केटाको रिसले बलात्कार गरेको हो भनेर आरोप लगाएकी हुँ भनेर बयान दिएँ ।’

केटा छुटेपछि घरजम गर्ने आश्वासनमा उनले बयान फेरेकी हुन् । तर, त्यही अभियोगमा उनलाई साढे तीन वर्ष जेल सजाय भयो । थाहा पाएर उनी झसंग भइन् । ‘जेलमा हुँदा फोन गरेर तुलाई बिहे गर्छु भन्ने केटा त्यताबाट निस्किसकेको रहेछ । अहिलेसम्म फोन गरेन । त्यो केटा छुट्यो र मलाई जेल सजाय भयो भन्ने कुरा मैले आज थाहा पायाँ,’ उनी फेरि रुन थालिन् ।

बिहेको वाचाबन्धन छ्ट्युो, आरोपित केटा पनि छुटे । तर अब आफूलाई प्रहरीले पक्राउ गरेर जेल लैजाने डरले उनी भयभीत मात्र होइन, विक्षिप्त छिन् । उनकै अगाडि मैले अछामका प्रहरी प्रमुख रविराज थपलियालाई फोन गरें । ‘१ सय ४० दिनसम्म उनी पुनरावेदन अदालतमा जान सक्छिन् । अदालतको आदेश आइसकेको छैन । आदेश नआउँदासम्म पक्राउ गर्दैनौं’ भन्ने डीएसपीको आवाज नै सुनाइदिएपछि उनमा केही आत्मबल पलायो ।

मैले उनकै अगाडि सरकारी वकिल कौशल ढुंगानालाई फोन गरें । उनले पनि सरकारवादी मुद्दा भएकाले पुनरावेदनका लागि तयारी गर्ने बताए । तर मानसिक रूपमा उनी जुन अवस्थामा थिइन्, ‘काउन्सिलिङ’ आवश्यक छ, बस्नलाई आवास र जिउनलाई ढाडस चाहिएको छ । मैले जिल्ला अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत गंगा बुढामगरलाई सम्पर्क गरें । उनको सहयोगमा तत्कालीन व्यवस्थापनका लागि मंगलसेनमा रहेको सुरक्षित आवास गृहमा लगियो । ‘मैले बोलेको एक वाक्यले यो अवस्थामा पुगें । अब मैले बयान दिन पायापछि जे–जे भएको त्यही भन्ने हुँ,’ उनले भनिन् । ल ठीक छ, अहिलेलाई आफ्नो ख्याल गर्नु भन्दै म पनि बिदा भएँ ।

समाचारका लागि मैले अब अरू पक्षलाई पनि सुन्नुपर्ने थियो । मुख्य विषय, नेपालको प्रचलित कानुन अर्थात् अपराध संहिताको दफा २१९ भन्छ, ‘प्रभावमा पारेर वा झुक्याएर राखेको शारीरिक सम्बन्ध पनि जबर्जस्ती करणी हो ।’ यो कानुन न्यायाधीशले नपढेको वा नजानेको अवश्य होइनन् । कक्षा १ मात्र पास गरेकी किशोरीलाई उनकै घरमा गएर बिहे गर्छु भनेर शारीरिक सम्बन्ध राखेपछि अलपत्र छाडेर हिँड्नु भनेको झुक्याउनु होइन भने यो प्रावधान केका लागि राखिएको हो ? फैसला गर्ने अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई मैले यो प्रश्न राखें । तर उनले प्रतिक्रिया नदिने बताए । जिल्ला अदालत स्रोतले भने किशोरीले सहमतिमै शारीरिक सम्बन्ध कायम भएको र केटाको गल्ती नभएको बयान दिएपछि न्यायाधीशले यस्तो फैसला गर्नु स्वाभाविक भएको दाबी गर्‍यो । ‘केटाले बिहे गर्दैन भन्ने शंका लागेपछि केटीले झूटा आरोप लगाएको हुँ भनेर बयान दिइन् । उनले आफ्नै बयान खण्डन गरेपछि अदालतले त्यहीअनुसार फैसला गरेको हो,’ अदालत स्रोतले भन्यो ।

त्यसो त मुद्दा किशोरी एक्लैले अदालतमा पुर्‍याएकी पनि होइनन् । उनले त प्रहरीमा उजुरी मात्र दिएकी हुन् । प्रहरीले अनुसन्धान गरेर, जिल्ला सरकारी वकिलको कार्यालय विश्वस्त भएर मुद्दा दर्ता भएको हो । तर, निवेदकलाई उल्टै सजाय हुँदा अनुसन्धानकर्ता प्रहरीको दायित्व के हुने ? मैले यो प्रश्न डीएसपी थपलियालाई पनि राखें । ‘प्रहरीकोमा जाहेरी आयो । हामीले केटालाई पक्राउ गर्‍यौं । अनुसन्धान गरेर अदालत पठायौं,’ डीएसपी थपलियाले भने, ‘पीडितले प्रहरीसँग जति नै बयान दिए पनि, जे–जति अनुसन्धान गरे पनि अदालतमा गएर बकपत्रका लागि दिएको बयान नै अन्तिम हुन्छ । त्यसैका आधारमा फैसला हुन्छ ।’

तर पहिले प्रलोभनमा पारेर शारीरिक सम्बन्ध राखेर जंगलमा अलपत्र पारेको युवकले पछि फेरि थुनाबाट फोन गरेर तथा आफन्तबाट किशोरीलाई प्रभावित गरेको हुन सक्ने विषयमा अदालतले किन विचार गरेन ? यो विषयमा विवेक नपुर्‍याई सिधै निवेदकलाई नै साढे तीन वर्ष जेल पठाउने निर्णय कसरी गर्‍यो ? कानुनविद्हरू पनि आश्चर्यमा परेका छन् । ‘न्याय माग्न आएकालाई नै जेल पठाउने भन्ने एउटा असाधारण फैसला हो । किनकि अदालतको सुनुवाइ जहिले पनि पीडितमैत्री हुनुपर्छ । निवेदकलाई नै जेल पठाउने फैसला दिन अदालतसँग गम्भीर प्रमाण चाहिन्छ, अदालतले विचार गर्‍यो कि गरेन भन्ने मूल प्रश्न यही हो,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने ।

उता योजनाबद्ध रूपमा बयान फेरेमा दण्ड हुने व्यवस्था पनि कानुनमा छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ भन्छ्, ‘बयान फेरेमा तीन महिनासम्म जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुन सक्छ ।’ तर न्यायाधीश जोशीले किशोरीलाई साढे तीन वर्ष जेल सजायको आदेश दिएका छन् । जब कि कानुनमै यस्तो प्रावधान छैन । बरु न्यायाधीशले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न ल्याइएको अध्यादेशको आधारमा साढे ३ वर्ष कैद सजाय तोकेका छन् । तर गत मंसिर २३ मा संसद्मा दर्ता भएको अध्यादेश ६० दिन अर्थात् माघ २३ मै निष्क्रिय भइसकेको छ । निष्क्रिय भइसकेको कानुनमा टेकेर न्यायाधीशले १९ वर्षीया किशोरीलाई सजायको फैसला गरेका छन् । कानुनमै नभएको सजाय तोक्नु न्यायिक विचलन हो भनेर अधिवक्ता अर्यालले प्रस्ट पारे । ‘यसले त सरासर न्यायाधीशको कार्यक्षमतामाथि नै प्रश्न उठ्यो । न्यायाधीशको बदनियत नै हो कि होइन भनेर मिडियाले खोजबिन गर्नुपर्ला । तर लापरबाहीको यो हदलाई न्यायिक विचलन नै भन्नुपर्छ,’ उनले भने ।

यता, किशोरीको पक्षबाट लडेका सहायक जिल्ला न्यायाधिवक्ता कौशल ढुंगानाले सरकारवादी मुद्दामा असफल हुने गरी बकपत्र नदिन लगाउन धेरै प्रयास गरेको बताए । ‘उनको बकपत्र फेरिएकामा हामी पनि आश्चर्यमा छौं, नफेरियोस् भनेर धेरै प्रयास गर्‍यौं तर असफल भयौं,’ उनले भने । पीडितलाई सजाय भएको सन्दर्भमा भने पुनरावेदन गर्ने तयारी भएको उनले बताए । (यो समाचार कान्तिपुर दैनिकमा मेनुका ढुंगानाले लेख्नुभएको छ )