७ जेष्ठ २०८१, सोमबार 1716228009
शिक्षा /स्वास्थ्य

अस्पतालका लागि नगरपालिकाको सभाहल

काठमाडौँ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ।

अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो। नवनिर्मित सभाहलको नगरपालिका प्रमुख दीपककुमार रिसालले सोमबार उद्घाटन गरे। उद्घाटन समारोहमा उनले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान कायम नै रहेको बताए। उनले गोकर्णेश्वर नगरपालिकाका नागरिकको स्वास्थ्य बीमा निःशुल्क गरिएको जानकारी दिए।

नगरप्रमुख रिसालले सात सय ५३ स्थानीय निकायमध्ये गोकर्णेश्वर नगरपालिका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा लागू गर्ने पहिलो निकाय भएको बताए। उनले अस्पातलसँग सहकार्य गरी नागरिकलाई सुलभ र सहजरूपमा सेवा उपलब्ध गराउने बताए।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा.कैलाशकुमार भण्डारीले नगरपालिकाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा गरे। उनले अस्पतालले उपलब्ध गराएको सेवाहरूका बारेमा जानकारी गराउँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउने प्रयास भइरहेको जानकारी गराए। सो अवसरमा निःशुल्क साधारण बहिरङ्ग सेवा (ओपिडी) सेवा, यसैगरी रक्तदान तथा अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरणसमेत गरिएको थियो।