४ जेष्ठ २०८१, शुक्रबार 1715956771
Banner

महिला नेतृत्वमा थप सामाजिक जिम्मेवारी हुँदारहेछन् : बुनपा–९ वडाध्यक्ष सुमित्रा पाण्डे

काठमाडौं । सुमित्रा त्रिपाठी पाण्डे बूढानीलकण्ड–९ की वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडासदस्यमा निर्वाचित पाण्डे इमानदारिता र कार्यक्षमताका आधारमा २०७९ सलको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएकी छिन् । स्थानीय स्रोत–साधन र कानुनी दायराले भ्याएसम्म स्वस्थ र स्वच्छ रुपले सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता राख्ने पाण्डे युवा गाउँदेखि शहर र शहरबाट विदेश पलायन भएको देख्दा दिक्क लाग्ने गरेको बताउँछिन् ।

उनका अनुसार वडा कार्यालयमा उद्योग धन्दा खोल्ने र स्थानीय मुद्दा लिएर आउनेभन्दा पनि विदेश जान हरेक दिन कम्तीमा ३ जना युवा डकुमेन्टका लागि आउने गर्छन् । ‘युवालाई रोक्नका लागि आफूहरुले अन्य शीर्षकको खर्च कटौती गरेर सीप विकास वृत्ति परामर्शजस्ता कार्य गर्दै आएका छौँ । यसै वर्ष पनि हामीले सीप सम्मेलन र युवालाई टेक्निसियन काम, वर्कसम्बन्धी तालिम नगरले चलाइरहेको छ,’उनले भनिन् ।

व्यवसाय दर्ता गरे पनि केही वर्ष आम्दानी हुन नसके र डुबेर अल्मलिएरहेको वा ऋणमा डुबेकाहरुलाई प्रकृति हेरेर नगरले २ लाखसम्म अनुदान र सफ्ट लोन दिइरहेको उनको भनाइ छ ।

निर्वाचित जनप्रतिनिधिहरुमा काम गर्ने चाहना तीव्र हुने गरे पनि कानुनी ज्ञानको अभावका कारण कतिपय ठाउँमा हच्किनुपरेको उनले बताइन् ।

‘कर्मचारीले कानुनबमोजिम मिल्दैन भनेपछि सोच्नुपर्ने अवस्था छ । रिक्सजति सबै वडामा लगेर थुपारिएको छ,’ उनले भनिन्, ‘सिडियोले कुनै काम गर्नुप¥यो भने वडाबाट कागजपत्र लिएर आउनूस् हामी त गरिदिहाल्छौँ भन्नुहुन्छ । कतिपय अवस्थामा वडाले कागज बनाउन सक्ने अवस्था हुँदैन । जसको अपजस वडाध्यक्षले भोग्नुपर्छ ।’

जनताले तिरेको कर सही ठाउँमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी नेपालको प्रशासनिक सेवा पेपेर प्रोसेसमै बढी केन्द्रित रहेको उनको भनाइ छ ।

नेकपा (एमाले)को तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित पाण्डेले अन्य विपक्षी दलका चार सदस्यलाई पनि मिलाएर अघि बढेकी छन् । सम्भवतः अनावश्यक स्वार्थ र कानुनको दायरभन्दा बाहिर जाने जाने दुर्नियत नभएका कारण पनि वडा घरपरिवारजस्तै बनेको हुनुपर्छ ।

वडामा विकास निर्माणका क्रममा कतिपय उपभोक्ता समितिको नेतृत्व सम्हालेकी उनी भन्छिन्, ‘यदि काम गर्ने सिलसिलामा तलमाथि भएमा कानुनी कारबाहीका लागि तयार छु ।’

दोस्रो स्थानीय तहको निर्वाचनमार्फत् वडाध्यक्ष पदमा निर्वाचित भएर खासै अनौठो अनुभव भएन बरु वडावासीले मलाई गरेको विश्वास घट्न नदिई वडाका कामकारबाहीमा सहजता ल्याउनुपर्नेजस्ता जिम्मेवारी थप भएको बुझेर सोहीअनुरुप नैतिक जिम्मेवारी लिएर अघि बढिरहेकी छन् ।

अजअपेक्षा एकपछि अर्को गर्दै थप हुँदै गएको बताउँदै उनले पर्याप्त स्रोत साधन र बजेट अभाव हुँदा वडावासीको जनअपेक्षा पूरा गर्न असमर्थ रहेको बताइन् । तर, सबै आकांक्षा पूरा गर्न गर्न असमर्थ रहे पनि वडाबाट प्रवाह हुने स्वास्थ्य, शिक्षा, सामाजिक कार्यजस्ता कार्य चुस्त दुरुस्त सञ्चालनमा भने कुनै कमजोरी हुन नदिने उनको प्रतिबद्धता छ ।

विकास निरन्तर हुने कुरा भएको बताउँदै उनले भनिन्, ‘ विकासमा जनप्रतिनिधिको पनि प्रत्यक्ष हात हुन्छ । वडा नम्बर ९ ले विकास निर्माणमा कुनै पनि कञ्जुस्याइँ गरेको छैन । ९ नम्बर वडा महानगरसँग जोडिएको वडा हो । बूढानीलकण्ड नगरपालिकाकै अन्य वडाको तुलनामा वडा नम्बर ९ वासीको चाहना अझ बढी छन् । वडा नम्बर ९ मा सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्था छैनन् । यी दुवैमा हामीले निजी विद्यालयलसँग सहकार्य गर्नुपर्ने अवस्था छ । यसका अलावा हामीले हाम्रो वडालाई नै प्रयोग गरेर विभिन्न किसिमका सिविर र खोपलगायत काम गर्दै आइरहेका छौँ ।’

वडाभित्रका समस्यालाई सरल र सहज तरिकाले हल गर्ने गरिएको बताउँदै उनले महिला वडाध्यक्ष भएकाले महिला तथा ज्येष्ठ नागरिकहरुले पुरुषको तुलनामा थप अपेक्षा गर्ने गरेको उनले बताइन् । ‘ पुरुष पात्र वडाध्यक्ष हुँदा धेरै समस्या वडाध्यक्षलाई सेयर गर्न नसक्ने अवस्था हुँदो रहेछ । तर, नेतृत्व महिला ज्येष्ठ महिलाका थप समस्याहरु आउँदा रहेछन् । वडाबाट ठूल–ठूला समस्या मात्रै नभएर महिलासँग र घरयासी समस्याहरु पनि जोडिँदा रहेछन् ।

घरायसी र महिला समस्या पुरुष पात्रलाई राख्दा केही नबुझ्ने र अलि चाँडो आवेशमा पनि आउनसक्ने भएकाले पनि पारिवारिक समस्या कम राखेको मेरो अनुभव छ,’ उनले भनिन, ‘ अहिले महिला मात्रै समस्यामा छैनन् । पुरुषहरु पनि समस्यामा छन् । उहाँहरुले पनि आफ्ना समस्या राख्नुहुन्छ ।’

वडा नम्बर ९ सार्वजनिक विद्यालय र स्वास्थ्यचौकी नभएको वडा भएको बताउँदै उनले पछिल्लो समय एउटा वर्ग डक्टरको सल्लाहबमोजिमबाहेक केही नगर्ने र अर्को वर्ग पनि निजी अस्पताल तथा निजी क्लिनिक गएर सल्लाह तथा औषधि किनेर खाने चलन रहेको बताउँदै उनले पछिल्लो समय सरकारी हेल्थपोस्टमा त्यति धेरै प्रयोगमा आइनरहेकाले पनि वडामा सरकारी स्वास्थ्यचौकी स्थापनाका लागि पहल नगरेको उनले बताइन् ।

बरु आफूहरुले वडा कार्यालयमै स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम गर्ने गरेको बताइन् ।
‘केही समयअघि मात्रै हामीले आँखाको अप्रेसन गरेका छौँ । प्रत्येक महिना खोप हामीले वडा कार्यालयकै प्राङ्गणमा दिने गरेका छाँै । त्यस्तै पाठेघरको क्यान्सरसम्बन्धी चेकजाँच विभिन्न अस्पिटलहरुसँग जोडिएर चेक जाँच यहीँ गर्छौँ र त्यसको उपचारका लागि ती संस्थाहरुसँग समन्वय गरेर अघि बढ्छौँ,’ उनले भनिन् ।

खानेपानीको सन्दर्भमा अहिले मेलम्चीअन्तर्गको खानेपानी ल्याउने क्रममा खानेपानीको पाइपलाइन विछ्याउने काम लगभग अन्तिम अवस्थामा रहेको बताउँदै उनले खानेपानीमा अर्को लगानी भित्रउनुपर्ने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘पुराना खानेपानीका सुकेधारा खानेपानी र केही बोरिङलाई प्रयोगमा ल्याएर करिब ४०० घर धुरीलाई पानी उपलब्ध गराएका छौँ । स–साना बस्तीहरुलाई हामीले वडाबाटै बोरिङको व्यवस्था गर्छौँ । यसमा बूढानीलकण्ठ नगरपालिकाले नै पालिकाभित्र भएका स्रोतको प्रयोग गरी खानेपानीको व्यवस्था गर्न सकिन्छ कि भनेर प्रारम्भिक अध्ययन गरिरहेको छ । त्यसकारण पनि वडाले खानेपानीमा छुट्टै योजना बनाएको छैन ।’
ज्येष्ठ नागरिक भत्तालगायत सम्पूर्ण सामाजिक सुरक्षा हामीले हरेक त्रैमासिक रुपमा बैकिङ प्रणालीमार्फत् उपलब्ध गराउने गरेको बताउँदै उनले वडामा पनि आउन नसक्नेलाई सम्बन्धित व्यक्तिको विश्वास पात्र वा घरमै लगेर दिने गरेको बताइन् ।
त्यसैगरी ज्येष्ठ नागरिकको हकमा हामीले हरेक शुक्रबार वडाकै हलमा आफ्ना अनुभव एकअर्कालाई सेयर गर्ने, भजन कीर्तन र प्रवचनको व्यवस्था गरी रिफ्रेन्समेन्स गराउने गरेको बताइन् । उनी भन्छिन्,‘हामी पनि उहाँहरुसँग जोडिन्छौँ ।’ नगरपालिकाले पोषणसहितको सुत्केरी कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उनले वडा पनि त्यहीँ कार्यक्रममा जोडिने गरेको उनको भनाइ छ ।
अबको प्राथमिकता के भन्ने प्रश्नमा उनी भन्छिन्, ‘ जनप्रतिनिधि भएका नाताले कानुनको परिधिभित्र रहेर छिटो, छरितो र स्वच्छ र स्वस्थ सेवा दिन सकूँ भन्ने । अहिले समाजमा महिलाले नेतृत्व गर्न सक्छन् वा सक्दैनन् भन्ने द्वन्द्वात्मक स्थिति छ । सर्वप्रथम मैले यसैलाई चिर्न आवश्यक छ । दोस्रो वडा नम्बर ९ पूर्वाधारले विकसित भइसकेको वडा भएकाले मेरो कार्यकालमा वडालाई स्वच्छ र स्वस्थ वडा बनाउने इच्छा छ ।’

Tags :