४ जेष्ठ २०८१, शुक्रबार 1715959470
Banner

प्रहरीद्वारा ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले रु ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट रु ५२ लाख ७५ हजार नगदसहित नौ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेका छन् ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बिहीबार लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गामा जाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएको अवस्थामा नक्कली नोट फेला परेको जानकारी दिनुभयो ।

“बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार नक्कली नोट बरामद गरेका हौँ,” एसएसपी कार्कीले भन्नुभयो ।

कारोबारीले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुद्रा कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको परिसर प्रमुख कार्कीले बताउनुभयो ।