२० बैशाख २०८१, बिहीबार 1714635030
Uncategorized

दुई नगरका सबै वडामा मेलमिलाप केन्द्र

काठमाडौं । जिल्लाको बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । बागलुङका १४ र जैमिनी नगरपालिकाका १० वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

केन्द्र स्थापनासँगै वडातहमै सामान्य घरायसी मुद्दा, अंशबन्डा र कानुनी सल्लाह पाइने भएको छ । न्यायिक समितिको प्रभावकारी कामका लागि वडास्तरमा केन्द्र स्थापना गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिए । उनका अनुसार पालिकाअन्तर्गत न्यायिक समितिले ८५ जना मेलमिलाप कर्ता तयार गरी केन्द्र स्थापना गरेको हो ।

वडा नं १ बाट केन्द्र स्थापनाको अभियान सुरु गरी ११ वडाको रायडाँडामा पुगेर सम्पन्न भएको खड्काको भनाइ थियो । यससँगै नगरका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना भएका छन् ।

नगरका सबै वडामा केन्द्र स्थापना भएसँगै सञ्चालनसम्बन्धी कार्यविधिको तयारी, कार्यालय व्यवस्थापन, मेलमिलापकर्ताका लागि पुर्नताजगी तालिम र स्रोतसाधनको आवश्यक व्यवस्था मिलाउने काम अघि बढाइने खड्काले जानकारी दिए ।

वडाको विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । स–साना विवाद अब वडातहबाटै समाधान हुने उनको भनाइ थियो । न्याय निरुपणका लागि सहज होस् भनेर नगरपालिकाअन्तर्गत न्यायिक समितिको पहलमा केन्द्र स्थापना गरिएको उहाँले बताए ।

स्थानीय सरकार गठन भइसकेपछि नागरिकले घरदैलोबाट सेवा पाउनुपर्ने अधिकारलाई सुनिश्चित गरिएको भन्दै केन्द्रमा सूचीकृत मेलमिलापकर्ताले विवादको समाधान गराउने उपप्रमुख शर्माले बताए । उनका अनुसार सामान्य विवादलाई वडामा नै मेलमिलाप गराउने र मेलमिलापमा नगएमा न्यायिक समितिमा छलफल गराउने कानुनी व्यवस्था छ ।

उपप्रमुख शर्माले मेलमिलापकर्ताले दुवै पक्षलाई न्याय हुनेगरी मेलमिलाप गराउने भन्दै यस कार्यमा पूर्ण रुपमा गोपनीयता कायम हुने जनाए । उनले नियमानुसार मेलमिलाप गराउने भएकाले समस्या आएमा केन्द्रमा निवेदन दिन आग्रहसमेत गरे ।
मेलमिलापसम्बन्धी तालिम लिएका मेलमिलापकर्तालाई सूचिकृत गराउने र वडामा आएका विवादलाई समाधानको तयारी पनि पालिकाले गरिरहेका छन् ।

प्रत्येक वडामा तीन जना मेलमिलापकर्तालाई तालिम उपलब्ध गराइएको जैमिनी नगरपालिकाले जनाएको छ । केन्द्र स्थापनासँगै आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको छ ।

Tags :