५ जेष्ठ २०८१, शनिबार 1716077254
Banner

नेपाल कति र कुन गतिमा बन्यो ?

नेपाल कति र कुन गतिमा बन्यो अथवा किन र कति बिग्रियो ? यो प्रश्नले अहिले व्यापकता पाएको छ, तर यो व्यापकतामा सकारात्मक दृष्टिकोण भेटिदैन्। नेपालको प्रगतिको गति धिमा भएकै हो, तर नेपाल गलत बाटोमा छैन् भन्ने चेत र विवेक हामीमा अझै आएको छैन्। उदाहरणको रूपमा टिभी सम्वाददेखि लिएर पत्रिकाहरूमा आएको विश्लेषण, उठेका प्रश्न र निकालिएका निष्कर्षहरूले नकारात्मकतालाई आधार बनाएको छ। जसले समाजमा गलत भाष्य निर्माण र स्थापित गर्न सहयोग पुर्याईरहेको छ।

राजनीतिमा नैतिक पुंजीविहीन पात्रले गरेको सामाजिक अपिल बिक्दैछ भने हामीले बुझ्नुपर्छ, जनताको चेतना र विवेकले असल र खराब छुट्याउने सामर्थ्य गुमाउँदैछ। कम्फर्टेबल सत्ता गठबन्धन र भ्रमपूर्ण सस्तो लोकप्रियतावादी राजनीतिबाट लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने अनि देशमा नियन्त्रित अस्थिरता र बाह्य चलखेल बढाउने काम हुँदैछ। यो चरित्र र प्रवृत्तिको राजनीतिबाट देशलाई जोगाउन जनताले वैचारिक राजनीति अनि असल चरित्र, नैतिकता र नियत भएको नेतृत्वको पक्षमा आफ्नो अधिकार र क्षमताहरू विवेकका साथ प्रयोग गर्न सक्नुपर्छ।

आजको मुख्य प्रश्न नेपाल कति र कुन गतिमा बन्यो अथवा किन र कति बिग्रियो भन्ने नै हो। यो प्रश्नको उत्तर खोज्दा मुख्यतः दुईवटा उत्तर भेटिन्छ। पहिलो उत्तरः राज्यको चौथो अंग स्वतन्त्र र निष्पक्ष नहुँदा सामाजिक मनोविज्ञान नकारात्मक बनाउने भाष्यले चर्चासहित देशमा प्राथमिकता पाइरह्यो र पाइरहेको छ। यस्तो भाष्यले जनमन भ्रमित बनाउँदै जनतालाई भावनात्मक रूपमा भड्काउने काम पनि गरिरहेको छ। त्यसैले यतिखेर प्रश्न उठेको छ, राज्यको चौथो अंग कहिले बन्ला देशको अंग ? दोस्रो उत्तरः नेपालको शासकीय स्वरूपमा परिवर्तन भएपछि राज्यले दिने सेवा सुविधाहरू एकातिर पर्याप्त भएनन् भने अर्कातिर भएका सेवा सुविधाहरू गुणात्मक पनि भएनन् तर करको दायरा भने बढ्यो। फेरि पुरानो पद्धति र दृष्टिकोणबाट निर्देशित शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक क्षेत्रको नेतृत्वहरूले नयाँ पद्धति, परिस्थिति र आवश्यकतालाई स्वीकारेर काम गर्ने मनस्थितिसहित तत्परता पनि देखाएनन्।

यतिबेला नेपालको राजनीतिमा अवसरको उपयोग गर्दै कम्फर्टेबलवादीहरूले सत्तामा बसेर त भ्रमपूर्ण सस्तो लोकप्रियतावादीहरूले सञ्चार, सञ्जाल, सडक र सदनबाट राष्ट्र र राष्ट्रियता कमजोर बनाउने गतिविधि गर्दै र गर्न सघाइरहेका छन्। यो यथार्थ जनतालाई बुझाउन नसक्दा जनता भ्रमित भएर भावनात्मक रूपमा भड्किने वातावरण विकास भइरहेको छ। त्यसको पछिल्लो उदाहरण ब्लु पार्टीको ब्लु बस र ब्लु एम्बुलेन्सलाई नै लिन सकिन्छ। ब्लु पार्टीले चितवन २ मा ब्लु बस र ब्लु एम्बुलेन्सको प्रयोग रूपमा जनताको सेवा गरेको जस्तो देखिएतापनि सारमा आगामी चुनावका लागि भोट किन्न थालिएको हो। लोकतान्त्रिक गणतन्त्रमा यसरी भोट किन्न विदेशमा बस्ने नेपालीहरूमाथि आर्थिक शोषण गरिएको र भइरहेको छ। खासगरी खाडीलगायतका मुलुकहरूमा श्रम गरिरहेका नेपालीहरू ठगिदैछन्। तर यस्तो ठगिका बारेमा न सञ्जाल बोल्छ न त सञ्चार जगत नै। सदन र सरकार त कम्फर्टेबल गठबन्धन र भ्रमपूर्ण सस्तो लोकप्रियतावादको कब्जामा छदैंछ।

हामीले बुझ्नुपर्छ, भ्रमित कुरा सुन्दा र त्यसमा विश्वास गर्दा हामी ठीक बाटोबाट अगाडि बढ्न सकिरहेका छैनौं। किनभने हाम्रो दिमागको जोड खाना र विदेश रवाना हुनमा केन्द्रीत भएको छ। तर हाम्रो दिमाग खाना र विदेशी नागरिक बन्ने सोचबाट होइन, देशलाई सम्वृद्ध र नागरिकलाई खुसी बनाउने भिजनबाट निर्देशित भइरहनुपर्छ। त्यसैले हरेक नागरिकमा असल चेतना र विवेक विकास गर्नका लागि गुणस्तरीय शिक्षा, असल दीक्षा र नविनतम सिर्जनामा केन्द्रीत गर्नुपर्ने भएको छ। जुन सम्वृद्ध देश र सुखी नागरिक बनाउने प्रमुख आधार पनि हो। तर यो बाटोमा हिड्न ढिलो गर्दा देश बिग्रियो, सबै राजनीतिक दल र नेतृत्व खराब अनि देशमा केही पनि भएको छैन् भन्ने गलत भाष्यले प्राथमिकताका साथ महत्त्व पायो अनि नकारात्मकता बढ्न पुग्यो।

केही भएको छ। केही हुँदैछ। पर्याप्त र स्तरीय भएको छैन्। तर त्यसको सकारात्मक व्याख्या र रचनात्मक आलोचना हुन सकेको छैन्। जसले गर्दा नकारात्मकता बढाएर राजनीति गर्न खोज्ने र राजनैतिक तथा संवैधानिक व्यवस्था परिवर्तन गर्न चाहने राजनीति गर्न सजिलो भइरहेको छ। तर भएको के हो ? सत्यतथ्य बाहिर ल्याउन सामाजिक सञ्जाल र सञ्चार माध्यमले इमानदारिता देखाएको छैन्। बौद्धिक र विश्लेषक भनेर चिनिएका पक्षहरूले पनि स्वतन्त्र र निष्पक्ष भएर भएको के हो र हुनुपर्ने के हो ? भन्न सकेका छैनन्। त्यसका पछाडि धेरै कारणहरू छन्। तर पहिलो कारण उनीहरू देशप्रति इमानदार छैनन्। उनीहरू आफ्ना क्षमता र योग्यताहरूको देशको पक्षमा ठीक प्रयोग गर्न डराएका छन्।

यतिबेला हामीले बुझ्नु र बुझाउनु पर्छ, “नीतिहरूको राजा राजनीति नै हो। राजनीति ठीक नहुँदासम्म देशले लिने नीति ठीक बनाउन र कार्यान्वयनमा लैजान सकिन्न। तर राजनीतिलाई निर्देशन र परिचालन गर्ने र नागरिकदेखि नेतृत्वको मनस्थिति राम्रो बनाउन भने राम्रो शिक्षा नै चाहिन्छ अन्यथा न राजनीति राम्रो हुन्छ न त देशले लिने नीति नै। यो पाटोमा हाम्रो राजनीतिक नेतृत्वदेखि लिएर धार्मिक नेतृत्व चुकेको देखिन्छ। त्यसैले हामीले भन्नुपर्छ, बिग्रेको राजनीति होइन, शिक्षा व्यवस्था नै हो। शिक्षा सप्रियो वा सुध्रियो भने राजनीति आफै सुध्रिन थाल्नेछ। मूल प्रदुषित बनेपछि पानीको शुद्धता बिग्रन्छ भने झैं शिक्षा बिग्रिएपछि नागरिकदेखि नेतृत्वको मनस्थितिसँगै देशको परिस्थिति पनि प्रश्नको घेरामा परिरहन्छ।

नेपालमा केही भएन भन्नेहरूले कि त विगत देखेनन् र भोगेनन् कि उनीहरूको नियत नै ठीक छैन्। किनभने पहिलो जनआन्दोलनपछि चितवनबाट काठमाडौं पुग्न ८–१० घण्टा लाग्थ्यो किनभने एकातिर नियमित बस सेवा थिएन भने अर्कातिर उपलब्ध सेवा स्तरीय थिएनन् र बाटो पनि त्यस्तै थियो। आज चितवनबाट काठमाडौं पुग्न बढीमा ४ घण्टा लाग्छ। सुरुङ तयार भएपछि त ३ घण्टा पनि लाग्नेवाला छैन्। त्यतिबेला एसएलसी पास गरेपछि आईएस्सी पढ्न काठमाडौं नै पुग्नुपर्थ्यो तर अहिले ११÷१२ पढ्नकै लागि काठमाडौं जानु नै पर्दैन्। स्वास्थ सेवा गाउँघरमा पुगेको छ तथापि स्तरीय बनाउन सकिएको छैन्। हिजो गरिब र धनि उसको भेषभुषा र जीवन शैलीबाट छुट्टिन्थ्यो आज गरिब र धनिको भेषभुषा र जीवन शैली छुट्याउन कठिन हुने भएको छ। सञ्चारको सुविधामा त अतुलनीय क्रान्ति नै भएको छ।

त्यसैले त्यतिबेला मात्रात्मक विकासको कुरा गरिथ्यो भने यतिबेला हामी मात्रात्मक विकासको होइन, गुणात्मक दिगो विकासको चर्चा गर्दैछौं। यो नै केही भएन भन्नेहरूका लागि गतिलो उत्तर हो। बरू यतिबेला कुन विकास कहाँ कसरी गर्ने र त्यसमा कति लगानी जुटाउने भन्ने प्रश्नमा हामी केन्द्रीत हुनुपर्ने हो, तर हामीभने अनावश्यक रूपमा विचारहीन राजनीति र बाह्य हस्तक्षेप बढाउने कुटनीतिमा रमाईरहेका छौं। यो चिन्तन र अभ्यास नै आजको मुख्य समस्या हो भनेर जनतालाई सुसूचित गराउन हामीले आ(आफ्ना क्षमताहरूको प्रयोग गर्नुपर्ने भएको छ।

हामीले बुझ्नुपर्छ, कम्फर्टेबलवादीहरू सत्तामा बसेर त भ्रमपूर्ण सस्तो लोकप्रियतावादीहरूले सञ्चार, सञ्जाल, सडक र सदनबाट राष्ट्र र राष्ट्रियता कमजोर बनाउने गतिविधि गर्दै र गर्न सघाइरहेका छन्। यो यथार्थ जनतालाई बुझाउन नसक्दा जनता भ्रमित भएर भावनात्मक रूपमा भड्किने वातावरण बनेको छ। हाम्रो प्रश्न र आक्रोश सकारात्मक चिन्तन र चेतनाको जगमा प्रस्तुत हुनु पर्थ्यो र पर्छ, जसले राजनीतिक गतिविधिदेखि लिएर न्यायिक गतिविधिहरूलाई जनमुखी र देशमुखी बन्न प्रेरित र निर्देशित हुने वातावरण बनाउन सहयोग पुर्याउँन सक्थ्यो। तर यो चेत र विवेक हामीमा आउन सकेको छैन्। जसलाई नेपालमा नियन्त्रित अस्थिरता बढाएर आफ्नो स्वार्थ पूरा गरिरहेका बाह्य शक्तिहरूले उचित अवसरका रूपमा प्रयोग गरिरहेका छन्।

अन्तमा हामीले भन्नुपर्छ, ”गुणस्तर शिक्षा र सुशासनको माध्यमबाट युवाको मनलाई सकारात्मक सोचका साथ सशक्त बनाउन सक्यौं भने परिवर्तनले परिणाम दिनेछ। यसले हामीलाई स्वस्थ र समृद्ध भविष्य सुनिश्चित गर्न मद्दत गर्नेछ। तर हाम्रो ध्यान देशको मुख्य समस्याप्रति केन्द्रीत नहुँदा आज हामीलाई भ्रममा पारेर भावनात्मक रूपमा भड्काएर राजनीति धमिलो बनाउन खोजिदैछ।”