६ जेष्ठ २०८१, आईतवार 1716106878
Banner

लम्पी स्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं-नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ। 

बुधवार काठमाडौंको माइतीघर मण्डलामा भेला भई उनीहरूले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका हुन् । उनीहरूले लम्पी स्किन देशव्यापी रूपमा फैलिसक्दा समेत सरकारले आवश्यक चासो नदिएको गुनासो गरे । प्रदर्शन कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँलले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताउनु भयो । उहाँले देशभरका किसानहरूलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘सातै प्रदेशमा प्रदेश सरकार छन्, ७५३ वटै स्थानमा सरकार छन्, अहिले १ अर्ब बढीको क्षति भइसकेको छ, लम्पी स्किनबाट। ७६ जिल्लामा पशु मरेका छन्। सबैतिर फैलिसक्यो । तरपनि सरकार कुम्भकर्ण निन्द्रामा छ। सबैलाई दुख्यो तर सरकारलाई दुखेन । त्यसैले सडकबाट सरकारको ध्यानाकर्षण गराएका हौँ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो। उहाँले रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशु वस्तुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘देशको आर्थिक अवस्था थला परिरहेको छ, यो रोगले धेरै पशुहरू मरिसकेको अवस्थामा सरकारको ध्यानाकर्षण गराएका हौँ । यस रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालोस् र क्षति पुगेका किसानहरूले उचित क्षतिपूर्ति पाओस् ।’

कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनु भयो। उहाँले पशुलाई लम्पी स्किनको खोप दिन पनि सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाउनु भयो।

उहाँले भन्नुभयो, ‘लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन। यो देशव्यापी रूपमा फैलिसकेको छ। अहिले देशभर १० लाखको हाराहारीमा संक्रमित भइरहेका छन्। राज्यका तर्फबाट चालिएका कदममा ३ लाख पशु वस्तुमा खोप लगाइएको भनिएको छ, अरू कुरामा ढिलासुस्ती छ। खोपमा पनि ढिलो भइरहेको छ, पशु बिमा सम्बन्धी कार्यक्रम पनि अड्किएको छ। यो महामारी तत्काल नियन्त्रण गर्न नसके २५ लाख पशु वस्तुमा सङ्क्रमण हुने र १ खर्बको क्षति पुग्ने विज्ञको अनुमान छ, त्यसैले राज्यले प्रभावकारी काम गरोस्।’

प्रदर्शनमा सहभागीहरूले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बिमा उपलब्ध गराऊ, किसानलाई गोठ गोठमा सेवा उपलब्ध गराऊ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैङ्क कर्जा उपलब्ध गराऊ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।