७ बैशाख २०८१, शुक्रबार 1713583345
Banner

स्थानीय तह निर्वाचनमा साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन हुँदै

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्रको टुंगो लगाएपछि सबै सुरक्षा अंगहरू आआफ्नो तयारीमा अघि बढेका हुन् । आयोगले देशभर १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदानकेन्द्र कायम गरिएको जनाएको छ ।

३ हजार मतदानस्थल अति संवेदनशील

सरकारले आयोगले तोकेका मतदानस्थललाई सुरक्षाका दृष्टिकोणबाट तीन तहमा विभाजित गर्दै सुरक्षाकर्मी परिचालनको योजना बनाएको हो । जसअनुसार मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरिएको छ । गृह मन्त्रालयमा बसेको सुरक्षा निकायसहितको बैठकले सुरक्षा संवेदनशीलताको व्याख्या गरेको हो ।

आयोगले तोकेकामध्ये २ हजार ९ सय ४५ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको छ । यस्तै, ४ हजार ४ सय २० वटा मतदानस्थल संवेदनशील र ३ हजार ३ सय ९१ मतदानस्थल सामान्य रहेको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष छ ।

गृहले विश्लेषण गरेको सुरक्षा संवेदनशीलताकै आधारमा निर्वाचनमा सुरक्षाकर्मीको संख्या पनि परिचालन हुने भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले अति संवेदनशील मतदान स्थलमा नेपाल प्रहरी र म्यादी प्रहरी गरी ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने जानकारी दिए ।

यसैगरी, संवेदनशील मानिएको मतदानस्थलमा ९ जनाभन्दा बढी र सामान्यमा ८ जना भन्दा बढी प्रहरी र म्यादी प्रहरी गरी खटाइने प्रहरी प्रवक्ता केसीले जानकारी दिएका हुन् । म्यादी प्रहरी मात्रै एक मतदानस्थलमा पाँचदेखि आठ जनासम्म अवस्थाअनुसार खटाइनेछ ।

यसैगरी, हरेक जिल्लामा नेपाल प्रहरीका रिजर्भ फोर्ससमेत रहनेछन् । जिल्ला प्रहरी कार्यालयमा १५ जनाका दरले रिजर्भ फोर्स राख्नेगरी प्रहरीले तयारी गरिरहेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता कमल तिउसिनाले सशस्त्र प्रहरीले निर्वाचन कार्यालय, निर्वाचनस्थल र केन्द्रसहित बाहिरी सुरक्षा सम्हाल्ने जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरीले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका केन्द्रित गरेर सुरक्षा रणनीति बनाएको छ भने प्रत्येक सुरक्षा टोलीको मतदान स्थल र केन्द्रमा पहुँच हुनेछ । सशस्त्रको टोली मोबाइल गस्ती र स्ट्राइकिङमा रहनेछन् । सशस्त्रबाट तोकिएबाहेक रिजर्भमका रहेका र नियमित काममा खटिएका जनशक्ति पनि आवश्यक पर्दा तत्कालै निकाल्ने गरी तयारी गरिएको छ ।

सशस्त्र प्रहरीबाट महानगरपालिकामा चारवटा टोली खटाइँदै छ । यस्तै, उपमहानगर पालिकामा तीन, नगरपालिकामा दुईवटाका दरले सशस्त्र प्रहरीका मोबाइल टोली परिचालन गर्ने तयारी छ । पहाडी र हिमाली जिल्लाका गाउँपालिकामा तीनवटाका दरले र तराईका गाउँपालिकामा दुईवटाका दरले सशस्त्रका मोबाइल टोली परिचालन हुनेछन् ।

सेनाले भने सुरक्षा संवेदनशीलता हेरेर जनशक्ति परिचालनको योजना बनाएको बताउँदै आएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सेनाले आफ्नो जनशक्तिलाई सुरक्षा संवेदनशीलता हेरेर परिचालन गर्ने तयारी गरेको जानकारी दिएका हुन् ।

सेनाले समेत सशस्त्रले जस्तै बाहिरी सुरक्षाको जिम्मा पाएको छ । सेना हवाई गस्तिमा समेत हुनेछ । सेनाले अन्य सुरक्षा निकायलाई पनि बाहिरी घेरामा नै रहेर सहयोग गर्ने अधिकार पाएको छ ।

यस्तै, सेनालाई मतपत्रलगायत निर्वाचन सामग्रीको सुरक्षा जिम्मा दिएको छ । निर्वाचन आयोगले नेपाली सेनाकै सहयोग र सुरक्षामा निर्वाचन सामग्री जिल्लासम्म पठाउनेछ । जिल्ला निर्वाचन कार्यालयबाट स्थानीय तहसम्म ती सामग्री पु¥याउन पनि सेनाले सहयोग गर्नेछ । विकट स्थानमा सेनाकै हेलिकोप्टरमा निर्वाचन सामग्री लगिनेछ ।

यसैगरी, राष्ट्रिय अनुसन्धान विभागले हरेक बुथको सूचना संकलन गर्नेछ । राजाधानी दैनिकमा खबर छ ।