११ बैशाख २०८१, मंगलवार 1713889481
Banner

राष्ट्रिय गौरवका आयोजना: छैन लक्ष्यअनुसार प्रगति

काठमाडौं । विभिन्न राष्ट्रिय गौरवका आयोजनाको लक्ष्यअनुसार प्रगति नभएको पाइएको छ । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रिको गौरवको आयोजनाका रूपमा प्राथमिकता राखेर निर्माण कार्य गर्दै आए पनि भौतिक तथा वृत्तीय प्रगति भने निराशाजनक पाइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगति न्यून रहेको छ । मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कर्णाली करिडोर) लोकमार्गलगायत गौरवका आयोजनाको निर्माण कार्य धिमा गतिमा मात्र बढिरहेको पाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले सम्बन्धित आयोजना, मन्त्रालय, योजना आयोगका साथै अर्थ मन्त्रालयबाट पनि राष्ट्रिय गौरवका आयोजनलाई छिटो काम सम्पन्न गराउन अनुगमन तथा समन्वयकारी भूमिका हुँदै आएको जनाउँदै विषय समस्याबीच गौरवका आयोजनाको निर्माण कार्य भइरहेको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्प, नाकाबन्दीसँगै कोभिड–१९ को प्रकोपका कारण राष्ट्रिय गौरवका आयोजनाको प्रगति लक्ष्यअनुसार हुन नसकेको जनाएको छ ।

सरकारले ८४ अर्ब ३३ करोड संशोधित लागतमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विगत एक दशक बढी समयदेखि निर्माण गर्दै आएको छ । २०६४ सालमा सुरु भएको उक्त लोकमार्ग आर्थिक वर्ष २०७९-८० सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति ६० प्रतिशत मात्र रहेको छ ।

कुल १ हजार ८ सय ७९ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति र १ सय ३७ पुल निर्माण गर्ने लक्ष्य राखिएको पुष्पलाल लोकमार्गको हालसम्म ११ सय ४७ किमसी कालोपत्रे र ९१ वटा मात्र पुल निर्माण भएको छ । यो हिसाबले तोकिएको समयमा सम्पन्न नहुने निश्चित जस्तै देखिन्छ ।

६५ अर्ब २० करोड लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको अर्को आयोजना हो हुलाकी राजमार्ग । आर्थिक वर्ष २०६६÷६७ देखि सुरु भएर आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न हुनुपर्ने हुलाकी राजमार्गको पनि अहिलेसम्म साढे ७२ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । उक्त आयोजनाको १७ सय ९२ किलोमिटर मध्ये हालसम्म ७ सय ९५ किमी मात्र सकड कालोपत्रे भएको छ भने २ सय १९ वटा पुल निर्माण हुनुपर्नेमा १ सय १ वटा पुलको मात्र निर्माण सम्पन्न भएको छ ।

अर्को राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण (कोसी, कालीगण्डकी, कर्णाली करिडोर) लोकमार्ग पनि उस्तै सुस्त देखिएको छ । लोकमार्गअन्तर्गत करिब साढे १६ अर्ब लगानीमा निर्माणाधीन कोसी करिडोरको हालसम्म साढे २५ प्रतिशत मात्र प्रगति छ । २०६५÷६६ देखि सुरु भएर आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न हुनुपर्ने आयोजनाको कुल १ सय ६२ किमीमध्ये १ सय ४८ किमी मात्र ट्र्याक खुलेको छ । १४ किमीको ट्र्याक नेपाली सेनाले खोल्दै आएको छ ।

लोकमार्गअन्तर्गत कालीगण्डकी करिडोर (मालढुंगा–राम्दी–गौडाकोट खण्ड)को पनि प्रगति उस्तै कमजोर रहेको छ । २० दशमलव २२ अर्ब लागतमा निर्माणाधीन उक्त करिडोरको हालसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

कर्णाली करिडोरको निर्माणमा पनि उस्तै ढिलासुस्ती भइरहेको पाइएको छ । ४ दशमलव १० अर्ब लगानीमा निर्माणाधीन करिडोरको आर्थिक वर्ष २०६९-७० मा सुरु भएर आर्थिक वर्ष २०७९-८० मा सम्पन्न हुनुपर्नेमा २७ प्रतिशत मात्र प्रगति देखिन्छ । राजधानी दैनिकमा खबर छ ।