५ जेष्ठ २०८१, शनिबार 1716063066
कृषि

भोलि एमालेले ‘लम्की स्किन रोग’ विरुद्ध माइतिघरमा आन्दोलन गर्ने

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले गाई बस्तुमा लाग्ने ‘लम्की स्किन रोग’ बारे सरकारलाई सचेत गराउन भोलि माइतिघर मण्डलामा झ्याली पिट्ने कार्यक्रम आयोजना गरेको छ । बिहीबार बसेको बैठकले सरकारले गाई गोरुमा महामारीको रूपमा फैलिएको लम्की स्कीनको बारेमा कुनै चासो र चिन्ता नगरेको भन्दै विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार एमाले काठमाडौं महानगर कमिटीले विरोध कार्यक्रम आयोजना गरेको काठमाडौं महानगर कमिटी इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले बताए । फुयालका अनुसार लम्की स्किनबाट अहिलेसम्म ५० हजार गाई गोरुको मृत्यु भइसकेको छ । १ अर्ब बढीको क्षति भइसक्दा पनि सरकारले यो विषयलाई कुनै चासो नदिएको उनको आरोप छ ।

गाईगोरुमा लाग्ने यो एक प्रकारको भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस)बाट गाईभैंसीहरूमा लाग्ने रोग हो । यो रोग भैंसीहरूमा भन्दा गाईहरूमा बढी देखिन्छ ।

सुरुमा अफ्रिकामा सीमित यो रोग सन २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, काजकिस्तान हुँदै बंगलादेश र भारतमा पनि केही महिना अगाडि देखा परेको थियो । अहिले नेपालको मोरङ्ग, झापा लगायत पूर्वी क्षेत्रबाट सुरु भएको यो रोग देशव्यापी रूपमा फैलिरहेको छ ।

बर्खामासको समयमा किसानले खेती गर्ने सयमा गोरुहरू विरामी पर्दा किसान मर्कामा परेका छन् । किसानलाई परेको यस्तो संकटको बेलामा समेत सरकारले सहयोग नगरेको भन्दै एमालेले विरोध प्रदर्शन गर्ने तथा कृषि मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको फुयालले बताए । बैठकले अन्य विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै महानगरले विरोध कार्यक्रममा युवा संघ, विद्यार्थी लगायत संगठनहरूलाई समेत परिचालन गर्ने तयारी गरेको छ । सरकारविरुद्धको विरोध कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी युवा संघले गर्ने छ ।

तर, सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिइसकेका छन् ।