२२ बैशाख २०८१, शनिबार 1714842453
विश्व

अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ

कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जनगरेको आरोपमा पक्राउ गरिएको बताउनुभएको हो ।

कोलम्बियाका पहिलो बामपन्थी राष्ट्रपतिले ट्वीटरमा लेख्नुभएको छ, “प्रहरीले उहाँका छोरा निकोलस र निकोलसकी पूर्वपत्नी डेयुरिस भास्केजलाई पक्राउ गरेको छ ।”

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप गत मार्चमा भास्केजले लगाउनुभएको थियो ।

पेट्रोले लेख्नुभएको छ, “म मेरो छोरालाई भाग्य र शक्तिको कामना गर्दछु । यी घटनाहरूले उनको चरित्र निर्माण गरोस् र तिनले आफ्ना गल्तीहरू प्रतिबिम्बित गरून् ।” “एक व्यक्ति र बुबाको रूपमा यति धेरै आत्म–विनाश देख्दा पीडा हुन्छ,” उहाँले थप्नुभयो ।

अभियोजकहरूले राष्ट्रपतिका छोरा पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको र यसको अवैध संवर्धनको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन् । भास्केजलाई पनि त्यो पहिलो अपराधको आरोप लगाइएको थियो ।

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकहरूबाट पैसा प्राप्त गरेको आरोपहरूको खण्डन गर्दै आउनुभएको थियो । उहाँ आफैले आफ्नो छोरामाथि छानबिन गर्न आग्रह गर्नुभएको थियो ।

निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीको लागि सांसद थिए । समाचार रिपोर्टहरूमा निकोलसको बैंक रेकर्डहरूबाट उनीसँग सांसदका रूपमा आर्जन हुने सम्पत्तीको तुलनामा धेरै पैसा देखिएको पाइएको उल्लेख गरिएको छ । ती समाचारहलाई पुष्टि गर्न छानविन नै अन्तिम विकल्प रहने छ ।

एक पटक एक अन्तरवार्तामा आफ्नो पूर्व पतिले स्यामुअल सान्टान्डर लोपेसिएरा नामगरेका एक पूर्व लागूऔषध तस्करबाट एक लाख २४ हजार अमेरिकी डलर बराबरको रकम प्राप्त गरेको भास्केजले दावी गर्नुभएको थियो ।

लोपेसिएराले संयुक्त राज्य अमेरिकामा लागूऔषध ओसारपसारको आरोपमा १८ वर्षको जेल सजाय भोगेका थिए ।