१२ बैशाख २०८१, बुधबार 1713975836
Uncategorized

फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम: लमजुङमा थपिए चार हजार ७२९ मतदाता

लमजुङमा चार हजार ७००  बढी नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङले अभियानस्वरूप सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमबाट चार हजार ७२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङले मंसिर १७ गतेदेखि सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा जिल्लाका चार हजार ७२९ जना र जिल्ला वाहिरका ३२ जनाले नाम दर्ता गराएका हुन्।

जिल्लामा पहिलो चरणमा मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका, मर्स्याङदी गाउँपालिका र दुधपोखरी गाउँपालिकामा नामावली संकलन सुरु भएको थियो । मंसिर १७ गतेदेखि २६ गतेसम्म भएको साे कार्यक्रममा मध्यनेपालका ८ सय ५८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

यस्तै,  सुन्दरबजारमा ५५२ जना, मर्स्याङदीमा  ३७० जना र दुधपोखरीका १६६ जनाले नाम दर्ता गराएका छन् । यसैगरी, जिल्लाको राईनास नगरपालिका, दोर्दी र क्होलासोँथार गाउँपालिकामा फोटोसहित मतदाता नामावली संकलन कार्यक्रम दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुस ९ गतेसम्म भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी जिवाखर शर्माले बताए  ।

दोस्रो चरणको अभियानमा राइनासका ७५० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने दोर्दी गाउँपालिकाका ५४७ र क्होलासोँथार गाउँपालिकामा ४५२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सुचना अधिकारी शर्माको भनाई छ ।  स्थानिय तहबाहेक निर्वाचन कार्यालयमा ६ सय ८३ जना र जिल्ला प्रशासन कार्यालय लमजुङमा ३ सय १९ जनाले नाम दर्ता गराएको सूचना अधिकारी शर्माले बताए ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रमबाट बाहिरी जिल्लाका ३२ जना नागरिकहरुले पनि नाम दर्ता गराएका छन् । लमजुङमा २०७७ ५ पुस गते प्रकाशितत अन्तिम मतदाता नामवलीअनुसार जिल्लामा १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।