१३ बैशाख २०८१, बिहीबार 1714071693
Banner

हनुमन्ते खोलाको पुल सिलन्यास गर्दै पुर्वमन्त्री बस्नेतले भन्नुभयो, ‘नदिको जग्गा बेचेर खाने काँग्रेसलाई जनताले निर्वाचनमा तह लगाउनेछन्’

भक्तपुर। नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जगन्नाथ आचार्यले विगतमा हनुमन्ते नदीको ५४ रोपनी सार्वजनिक हडपेर आफ्नो श्रीमतिको नाममा लगि अहिले बालकोटवासी जनतालाई विकासको अध्यारोमा राखेको आरोप लगाउनुभएको छ ।

सोमवार संघीय सरकार अन्तर्गत गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालय भक्तपुरद्वारा विनियोजित रु ७ करोडको लागतमा ठेक्का सम्झौता भई सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटबाट मध्यपुर थिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर जाने मोटरेबल पुलको शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले सार्वजनिक जग्गा हडप्ने र जनतालाई विकासबाट बञ्चित गराउन खोज्ने कांग्रेसलाई जनताले आगामी निर्वाचनमा दुधको दुध, पानीको पानी छुट्याएर मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसकै जनप्रतिनिधिका कारण भक्तपुरको विकासको मेरुदण्डको रुपमा रहेको हनुमन्ते करिडोर निर्माण प्रकृयामा अवरोध आइरहेको उल्लेख गर्दै उहाँले जग्गा एकीकरण आयोजना सञ्चालन गरी करिडोर निर्माण गर्ने क्रममा केही ठाउँहरुमा विवाद सिर्जना भएको जसमा कांग्रेसका जनप्रतिनिधि भएको वडाहरु रहेको दावी गर्नुभयो ।

कांग्रेसका पूर्वमन्त्री जगन्नाथ आचार्यले आफ्नो श्रीमतिको नाममा सार्वजनिक जग्गा नीजिकरण गरेपछि उक्त ठाउँमा करिडोर निर्माण गर्न विवाद बनेको उल्लेख गर्दै अदालतले उक्त जग्गा दुषित दर्ता भएको भनि फिर्ता ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो । उपत्यकाका धेरै करिडोर निर्माणलाई अनुभव मान्दै हनुमन्ते करिडोर निर्माणसँगै हनुमन्ते जग्गा एकीकरण आयोजना समेत सञ्चालन गर्ने योजनाका साथ अगाडी बढिरएको जानकारी गराउँदै उहाँले करिडोर आसपासका कोही पनि जनतालाई सुकुम्वासी हुन नदिने पुनः प्रतिवद्धता जनाउनुभयो । स्थानीय तहले नागरिकलाई सूचना सहि दिन नसकेकोले पुल बनाउन अन्यौलता छाए पनि ढिलै भएपनि पुलको निर्माण शुभारम्भ भएको उल्लेख गर्दै उहाँले हनुमन्ते करिडोरले सूर्यविनायक र मध्यपुरका क्षेत्रहरुको विकासको मुहार परिवर्तन गर्ने योजना अगाडी बढाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्वमन्त्री तथा कांग्रेसका नेता जगन्नथ आचार्यले हनुमन्त्री नदीको जग्गा व्यक्तिको नाममा दर्ता भएपछि बालकोटबासीको जग्गाबाट हनुमन्ते नदी बग्न थाल्यो र बालकोटवासी जनता नदीको करिडोर बनिरहँदा सुकुम्वासी हुन्छौं भन्ने भयो । उहाँहरुको मागलाई सम्बोधन गर्दै जस्तोसुकै समस्या आएता पनि तपाईहरुलाई सुकुम्वासी हुन नदिने एमालेका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनायौं । तर आफुले जनतालाई जति विश्वास दिलाउन सकेता पनि स्थानीय तहले आवश्यक मात्रामा विश्वास दिलाउन नसकेका कारण कोरिडोर निर्माणमा समस्या उत्पन्न भएको छ । कतिपय जनप्रतिनिधिहरुले उल्टो भूमिका खेलेका छन् । दोहोरो चरित्र समेत केही जनप्रतिधिले खेलेका छन् । जसले गर्दा स्थानीयवासीमा संका भयो र कोरिडोर निर्माणमा अवरोध आयो । एक अर्व रकम फिर्ता जाने अवस्था बनेको छ । यसमा जनताले आगामी निर्वाचनमा विकास गर्ने र विकास विरोधी तत्वलाई बुझेर र आगामी योजना तथा प्रतिवद्धतालाई ध्यान दिएर मतदान गर्नुहुनेछ । विकास गर्नेलाई जनताले भोट दिनुपर्ने छ । विकासको नाममा गरिएको नाटक गर्नेलाई जनताले दुधको दुध पानीको पानी छुट्याउने दिन आएको छ ।’

कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, सम्बन्धीत निकायका प्रतिनिधिलगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।