२०७९ आश्विन १९ बुधबार 1665016171
Banner

इटहरीमा बम विस्फोट : दुईजना घाइते

विराटनगर । सुनसरीको इटहरीमा ‘सुतली’ बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार गए राति इटहरी उपमहानगरपालिका–२, हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ, ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ विस्फोटमा परी घाइते भएका हुन् । गुरुङ र थापा बस्ने घरको डेरामा राति साढे १० बजेतिर विस्फोट भएको र थापाको आँखा तथा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । घटनापछि थापालाई उपचारका लागि विराटनगर आँखा अस्पतालमा पठाइएको छ । गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनास्थलमा हिमाल सुरक्षा परिषद्को पर्चा भेटिएको जनाइएको छ । उक्त संगठनले गएको फागुन १५ गते विज्ञप्ति प्रकाशित गरी सशस्त्र युद्ध सुरु गरेको जनाएको थियो ।