५ जेष्ठ २०८१, शनिबार 1716047019
Banner

कम्बोडियाका प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् ।

अध्यक्ष ओलीको निजी सचिवालयका अनुसार राजधानी नोम्पेनमा आज बिहान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गरेका हुन् ।

ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञ अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् ।

त्यसमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू समेत छन् । नेपालबाट एमाले अध्यक्ष ओलीको नेतृत्वमा एउटा टोली कम्बोडिया पुगेको हो । ओलीसँग कम्बोडियाका विदेशमन्त्रीको पनि भेटवार्ता भएको छ ।

ओलीलाई विमानस्थलमा त्यहाँका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए । विमानस्थलमै ओलीको पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी,नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भएको सचिवालयले जनाएको छ ।

आजै ओलीले त्यहाँको निर्वाचन आयोगसँग छलफल गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुअघि ओलीले शान्ति र लोकतन्त्रको लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको अ‍ोलीसँगै रहेका एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

Tags :