५ जेष्ठ २०८१, शनिबार 1716073060
Banner

चुनावका क्रममा नगरवासीलाई खानेपानी खुवाउने प्रतिबद्धता यो एकबर्षमा पुरा गरे : कृष्णहरि महर्जन


स्थानीय तह निर्वाचन भएको एक वर्ष पूरा भएको छ । निर्वाचित जनप्रतिनिधिले एक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरिसकेका छन् । त्यसैगरी दोस्रो वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पनि पास गरिसकेका छन् । एकवर्षे कार्यअनुभव,नगरविकासका लागि भएका पूर्वाधारको अवस्था, चुनावमा गरेका प्रतिबद्धता र जनाआकंक्षाबीचको खाडल तथा एकवर्षे कार्यकालमा भोगेका चुनौतीबारे सूचना प्रेसले तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनसँग कुराकानी गरेको छ । प्रस्तुत त उनै नगरप्रमुख महर्जनसँग गरेको कुराकानीको संपादित अंश:

यहाँको एकवर्षे कार्यकाल कस्तो रह्यो ?
म निर्वाचित भएर आईसकेपछि एकबर्ष र केही महिनापनि बितिसकेको छ । यो अवधिमा १०८३ वटा पूर्वाधार योजना सम्पन्न भएका छन् । सामाजिक सांस्कृतिकलगायत काम पनि भएका छन् । हाम्रो पहिलो एजेन्डा खानेपानीको थियो । योसँगै करको दर बढाउने योजनापनि थियो । हामीले सामुदायिक विद्यालयमा एक करोड ३० लाख लगानी गरेको ठाउँमा आज ८ करोड ४६ लाखको लगानी गरेका छौँ ।

हामीले शिक्षालाई स्मार्ट पालिका, स्मार्ट शिक्षा र गुणस्तरीय शिक्षा भनेर थ्रीपी मोडलमा अघि बढाउन चाहेका छौँ । खानेपानीमा ४४ करोडको लगानीमा ७५ घरधुरीलाई खानेपानी वितरण गरेका छौँ ।

काभ्रेस्थलीमा सिअफआरडीबाट २ करोडको लगानीमा ३०० घरधुरीमा खानेपानी वितरण भइरहेको छ । यसैगरी, ९ र १० नम्बर वडामा खानेपानी योजनाका कार्यक्रम अगाडि बढिरहेका छन् । ७ नम्बरमा १००० घरधुरीमा पानी वितरण भइसकेको छ । तारकेश्वर नगरपालिकाभित्रै चार–पाँच वटा खानेपानीका मुहान छन् । तिनैलाई संरक्षण र सम्वद्र्धनमा जोड दिइरहेका छौँ ।
स्थानीय चुनावका क्रममा नगरवासीलाई खानेपानी खुवाउने प्रतिबद्धता गरेको थिएँ । यो एक वर्षको कार्यकालमा खानेपानी खुवाउने प्रतिबद्धता लगभग पूरा भएको छ । करिब एक डेढ वर्षमा समग्रवासीलाई पानी खुवाउँछु ।

नगरको विकासका क्रममा कस्ता–कस्ता चुनौती आए ?
कामका दौरानमा चुनौती र समस्या हुन्छन् । तिनको समाधानका लागि उपाय खोज्नुपर्छ । मिसन, भिजनअनुसार चल्न सक्दा तिनको समाधान हुन्छ । अहिले नगरका सबै वडाध्यक्ष, प्रतिपक्षी दलका साथीहरुको पनि सहयोग छ । कर्मचारी साथीहरुबाट पनि सहयोग भइरहेको छ । हामी पारदर्शिता, भ्रष्टाचार निर्मूल पारी सुशासन कायममा प्रयत्नरत छौँ । यहाँका नागरिकले नगरपालिकामा म आएदेखि असन्तुष्ट प्रकट गर्नुभएको छैन । यसैलाई सफलता मान्नुपर्छ ।

यस्तो सफलता चाहि कसरी सम्भव भयो त ?
जनप्रतिनिधिलाई सधैँ चुनौती हुन्छ । यहाँका नागरिकको सेवामा २४ सै घन्टा ध्यान दिनुपर्छ । नागरिकको कुनै समस्या आयो भने आफ्नै समस्या हो भनेझै गरेर लाग्न सके सफलता हात पर्छ ।

एक वर्षमा देखिने गरी के–के योजना बनेका छन् ?
हिजो तत्काल आउँदा सबैको समस्या एकैचोटि सम्बोधन गर्नुपर्ने कुराले सबै योजना लियौँ । र, ती पूरा गर्न सफल पनि भयौँ । अबका एजेन्डा देखिने खालका हुन्छन् । मुख्यगरी, खानेपानी, शिक्षा, ११ वटै वडामा कहीँ पार्क, कहीँ लाइब्रेरी, साइन्स ल्याब, कहीँ संग्रहालय, पिक्निक स्पोर्ट, बन्जिङजम्प, जिप लाइनजस्ता योजना बनेका छन् । यस्तै, केवलकारको योजना पनि अगाडि बढाएका छौँ । पाँच वर्षभित्रमा नगरपालिका पूर्वाधारमा सम्पन्न बन्नेमा म विश्वस्त छु ।

आफ्नो कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना बनाउनुभएको छ ?
नगरवासीले सोचेजस्तो नगरपालिका बनाउन म लागि परेको छु ।