४ जेष्ठ २०८१, शुक्रबार 1715933959
अर्थ

जोगबनी नाका : घरायसी प्रयोजनका लागि ल्याउने सामानमा समेत अनिवार्य भन्सार

काठमाडौं । अवैध व्यापारका कारण विराटनगरको बजार व्यवसाय धराशायी भएको भन्दै जोगबनी नाकामा कडाइ गरिएको छ । विराटनगर महानगरपालिकाले साउन १ गतेबाट जोगबनीमा हुने किनमेललाई कडाइ गरेको हो ।

यो भन्सारबाट घरायसी प्रयोजनका लागि ल्याउने सामानमा समेत अनिवार्य भन्सार लिन थालिएको हो । महानगरको अगुवाइमा सरोकारवालासँग भएको छलफलपछि जोगबनीबाट ल्याएका सबै मालवस्तुको भन्सार सीमामै काट्न थालिएको छ। भारतीय बजारमा सामान सस्तो हुने भन्दै विराटगर, सुनसरीका स्थानीय घरायसी सामान किन्न जोगबनी जाने गरेका छन् ।

विराटनगर महानगरपालिकाकाले विनाभन्सार सामान ल्याउँदा स्थानीय व्यापारीलाई असर परे मेयर नागेश कोइरालाले बताए ।

‘विराटनगरको बजारलाई प्रवर्द्धन गर्न सीमा नाकामा कडाइ गर्न लागिएको हो । अब हरेक सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्नेछ, सीमापार सामान किन्न जानुभन्दा विराटनगरकै बजारमा सामान किन्दा व्यवसाय प्रवर्द्धन हुन्छ भन्ने हो ’, कोइरालाले भने ।

व्यापारीले गुनासो गरेपछि सरोकारवालासँग छलफल गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले कडाइ गर्ने सहमति भएअनुसार जुनसुकै सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था गरिएको मेयर कोइरालाले बताए ।