४ जेष्ठ २०८१, शुक्रबार 1715951592
Banner

बैंकिङ कसुरमा पूर्वमन्त्री विजय यादव पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यादवविरूद्ध जिल्ला अदालत रूपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको रूपन्देही प्रहरीको सोही पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ परेका यादवलाई जिल्ला अदालत रूपन्देहीमार्फत् जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको छ।

नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका यादवले दलले टिकट नदिएको झोंकमा पार्टी परिवर्तन गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरी बाँके क्षेत्र नं.२ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।

शंकर पोखरेल नेतृत्वको पछिल्लो सरकारको पालामा पार्टीको निर्णयविपरीत एमाले सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो।२०७९ सालको निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बने पनि निर्वाचनमा उनी पराजित भएका थिए।