४ जेष्ठ २०८१, शुक्रबार 1715935739
अर्थ

आइतबारदेखि चालु आवको खर्च भुक्तानी बन्द

काठमाडौं । चालु आर्थिक वर्षको लागि आजदेखि सबै खर्चको भुक्तानी रोकिएको छ । संघीय सरकारलाई अत्यावश्यक, रकमान्तर र स्रोतान्तर गरेको खर्च भुक्तानी गर्न सुविधा शनिबारसम्म रहेकोमा आइतबार कुनै पनि भुक्तानी गर्न नपाउने भएको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको खाता असार २४ गतेदेखि नै रोकिएको थियो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले गरेको व्यवस्था अनुसार आर्थिक वर्षको अन्तिम दिन कुनै पनि प्रकारको भुक्तानी नहुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

नियमावलीको नियम ३० मा भनिएको छ ‘हिसाब मिलान गर्ने तथा खर्च लेखि राजस्व खातामा रकम जम्मा गर्ने प्रयोजनबाहेक आर्थिक वर्षको अन्तिम दिन भुक्तानी निकास दिइने छैन।’

चालु आर्थिक वर्षको लागि आइतबार (आज) अन्तिम दिन हो। आइतबार भुक्तानी नहुने भएपछि शनिबार नै भुक्तानी दायित्व सकिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। शनिबार मात्रै प्रणालीबाट ९ अर्ब ७८ करोड ११ लाख रूपैयाँ भुक्तानी गरिएको छ।

यो सँगै चालु वर्षको लागि नेपाल सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रूपैयाँ अर्थात १० प्रतिशतले बढी हो।

चालु वर्षको लागि विनियोजन गरिएको रकमको तुलनामा ७९ प्रतिशत खर्च भएको छ। चालु वर्षमा १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो। गत जेठ १५ गते गरिएको सुंशोधिसत अनुमानको तुलनामा भने ९५ प्रतिशत खर्च हो। संशोधित अनुमानमा १५ खर्ब ५ अर्ब खर्च गर्ने लक्ष राखिएको थियो।