४ जेष्ठ २०८१, शुक्रबार 1715963402
Banner

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगामा दुर्घटना हुँदा १९ जना घाइते

काठमाडौं । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । चितवनको दासढुङगा नजिकै यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते भएका हुन्।

शुक्रबार विहान करिब ५ बजेतिर कांकडभिट्टाबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको छ ।

बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धारसहितको टोली खटीएको छ । अहिले बस घटनास्थलमै छ। रुखले गर्दा ठुलो क्षती हुन नपाएको प्रहरीको भनाइ छ ।

घाइते हुनेहरुमा भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा, भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा, मोरङ हरैचा नगरपालिका ३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा,हरैचा ८ बस्ने वर्ष ३४ की सुनिता लामीछाने, सुनसरी बस्ने वर्ष ४० की संगिता मगर, झापा मेची नगरपालिका ११ बस्ने वर्ष ३२ की सुमिमा राई भक्तपुर महानगरपालिका १ बस्ने वर्ष ३० को मिलन तामाङ, ललितपुर गोदावरी नगरपालिका ७ बस्ने वर्ष २७ का सुमन लामा, भोजपुर अरुण गाउँपालिका १ बस्ने वर्ष २९ का नन्द बहादुर पाण्डे, वर्ष १९ को लिला बहादुर पाण्डेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै सहचालक सर्लाही लालबन्दी नगरपालिका १० बस्ने वर्ष ३६ का बिक्रम मगर, कन्टेक्टर धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ को दिल बहादुर श्रेष्ठ, बसमा सवार सुनसरी रक्तमाला नगरपालिका ५ बस्ने वर्ष २९ की मनिका राई, बसमा सवार मोरङ हरैचा नगरपालिका ५ बस्ने वर्ष २५ की कल्पना राई, वर्ष २५ की सपना राई, धनकुटा सहिदभुमी गाउँपालिका ४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई, निजकै छोरी वर्ष चारकी दिब्या राई, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका २ बस्ने वर्ष ३७ का बादल कुमारको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।

घाइते धादिङ रुबीभ्यालीका ३२ वर्षीय दीपक तामाङलाई भने काठमाडौं पठाइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।