१३ बैशाख २०८१, बिहीबार 1714103384
Banner

सबैभन्दा बढी मोरङमा, मनाङमा कम मतदाता

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम सूची सार्वजनिक गरेको छ ।

निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता सहभागी हुन पाउनेछन् । आयोगले मतदाता नामावलीमा नाम दर्ता भएकाको अन्तिम जाँचबुझ गरी आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता कायम भएका छन् । आयोगले सार्वजनिक गरेको नामावलीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना कायम भएका छन् ।

सबैभन्दा बढी मोरङमा, कम मनाङमा

मोरङपछि झापामा ६ लाख ४६ हजार २ सय ३४ जना तथा काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ जना मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता कायम भएका छन् । त्यसपछि मुस्ताङमा १० हजार ४ सय ८५ जना तथा डोल्पामा २२ हजार ४ सय ४० जना कायम भएको आयोगले भनेको छ ।

आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची सार्वजनिक गरेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । अब अन्तिम नामावली प्रकाशन भइसकेपछि नामावली हेरफेर, थपघट वा सच्याउन पाइने छैन ।

यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने कुल मतदाता संख्या १ करोड ४० लाख ७४ हजार ४ सय २४ थियो । यसपटक भने २०७४ मा भन्दा ३६ लाख ५९ हजार २ सय ९९ बढेर १ करोड ७७ लाख पुगेको हो । २०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या १ करोड ५४ लाख थियो ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने अहिले २३ लाख मतदाता बढेका हुन् । आयोगले स्थानीय तहतर्फ भने सबैभन्दा बढी मतदाता काठमाडौं महानगरपालिकामा कायम भएको जनाएको छ । काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता कायम भएका हुन् । यस्तै, काठमाडौंपछि स्थानीय तहतर्फ दोस्रो धेरै मतदाता पोखरा महानगरपालिकामा कायम भएका छन् ।

पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता कायम भएका हुन् । यसैगरी, तेस्रोमा भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता कायम भएका छन् । आयोगका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकामा सबैभन्दा कम ४ सय ४८ जना मात्र मतदाता कायम भएका छन् । मनाङकै चामे गाउँपालिकामा ७ सय ११ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा ९ सय ६७ मतदाता रहेको आयोगले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।