५ जेष्ठ २०८१, शनिबार 1716082970
Banner

ललितानिवास प्रकरणका दोषीलाई कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार ललितानिवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान भइरहेका बेला मंगलबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारी जग्गालाई व्यक्तिको नाममा पास गर्नेहरुलाई दण्ड दिनुपर्ने बताउँदै आफू प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको बताए ।

उनले भने, ‘त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो रु सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ ।’

ललितानिवास जग्गा प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । उनले भने, ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।’

कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर निर्णय गर्नुपर्ने उनको मत छ ।

नेता नेपालले ललिता निवास मात्र नभई, नेपाल ट्रष्टका जग्गा लगायतमा पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

Tags :