१४ बैशाख २०८१, शुक्रबार 1714122655
Banner

निर्वाचन आयोग र सरकारले दलहरुसँग परामर्श नगरि गरेको निर्णय ततकाल सच्याउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग र सरकारले राजनीतिक दलहरुसँग परामर्श नगरि एकलौटी निर्णय गदै अघि बढिरहेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । स्थायी कमिटी बैठकले पारित गरेका विशेष प्रस्तावबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मतपत्रको रङ परिवर्तन गरेर हरियो बनाउने र दुई दिन मनोनयनका लागि समय दिने निर्णय सच्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,–‘राजनीतिक दलहरुसँग परामर्श नगरि मतपत्रको रंग परिर्वतन गर्ने र मनोनयनका लागि दुई दिनको समयमात्रै दिने निर्णय अनूचित छ त्यो ततकाल सच्याईयोस ।’

बैठकले केन्द्रीय कमिटीका तीन वटा निर्णय अनुमोदन गर्दै स्थानीय चुनावको प्रतिबद्धता पत्र तयारीका लागि चैत १६ गते हाइब्रिड भर्चुअल बैठक राख्ने निर्णय गरेको गुरुङले बताउनुभयो । त्यसका लागि केन्द्रमा रहेका नेताहरू भौतिक रूपमा सहभागी हुनेछन् भने जिल्ला पालिका र प्रदेशका प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।

सो भर्चुअल बैठकमा प्रदेश र जिल्लाले तोकेका पालिका इन्चार्जहरू, स्थानीय तहमा एमालेले जितेका प्रमुख र उपप्रमुखहरू,मस्यौदा समितिका विज्ञहरू लगायतका नेता सहभागी हुनेछन् ।

त्यस दिन पहिलो मस्यौदा तयार पारेर वैशाख ९ गते अन्तिम प्रतिबद्धता पत्र सबै पालिकाबाट एकसाथ सार्वजनिक गर्ने एमालेको तयारी छ । केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यहरुले चैत २० गतेसम्म लिखित सुझाव दिनुपर्ने निर्णय समेत बैठकले गरेको छ ।